२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित



अ+ अ-

बनियानी । झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन् ।

कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी भाडामा लिएर बेसार खेती गर्न थालेको ३२ वर्षीय प्रदीपले बताउनुभयो । “पहिलो वर्ष ६० हजार किलो बेसार उत्पादन भयोे”, उहाँले भन्नुभयो, “यसपटक ४० देखि ५० हजार किलोसम्म उत्पादन हुने अनुमान छ ।”

सुरुआतमा बजार नपाउँदा समस्या भएको थियो । “बेच्न धेरै गाह्रो भयो, किन्छौँ भनेर आश्वासन दिएकाले नलगेपछि त्यसै थन्कियो”, उहाँले भन्नुभयो, “थोरबहुत सहकारीले बीउका लागि किनेर लग्यो, त्यसपछि सुकाएर राख्यौँ ।”

स्थानीय सामग्रीको प्रयोग गरेर बेसार प्रशोधन गर्ने गरेको प्रदीपले बताउनुभयो । काँचो बेसार नबेचिएपछि उनीहरुले साथी कृषि फार्म तथा प्रशोधन केन्द्र स्थापना गरेर आफ्नै ब्राण्डको ‘साथी बेसार’ बिक्री गर्न थालेका हुन् । बेसारको बीउसमेत बिक्री गर्ने गरिएको छ । बेसारको धुलो बनाएर करिब तीन हजार किलो बिक्री गरेको अर्का कृषक गोविन्दले बताउनुभयो । बेसार खेतीबाट पहिलो उत्पादन गर्न रु १२ लाख खर्च भएको उहाँले बताउनुभयो । खेतीमा अग्र्यानिक उत्पादनलाई जोड दिँदै गाईको गोबर मल र कुखुराको सुली मल प्रयोग गर्ने गरिएको छ ।

धुलो बेसार प्रतिकिलो रु तीन सयमा बिक्री गर्ने गरिएको छ । स्थानीय बजार, भद्रपुर र बिर्तामोडमा आफूहरूले उत्पादन गरेको बेसारको माग धेरै रहेको उहाँले बताउनुभयो । “हामीले उत्पादन गरेको बेसार एकपटक प्रयोग गर्ने उपभोक्ता अर्कोपटक पनि हामीकहाँ नै आउनुहुन्छ”, गोविन्दले भन्नुभयो, “थोरै हाल्दा पनि तरकारीमा बेसार लाग्छ, अग्र्यानिक भएकाले स्वास्थ्यकर पनि छ ।” व्यापारी र ग्राहकले प्रशोधन केन्द्रबाटै बेसार किनेर लग्ने गरेका छन् ।

भारतबाट आउने बेसारले भने स्थानीय उत्पादनका लागि चुनौती बनेको छ । भारतबाट व्यापारीले ल्याउने बेसार रु दुई सयदेखि रु दुई सय ५० मै बिक्री हुने भएकाले समस्या हुने गरेको छ । बेसार खेतीसँगै अन्य मसलाजन्य कृषि वस्तुको उत्पादन थाल्ने युवा कृषकको योजना छ । आगामी वर्षदेखि धनियाँ खेती सुरु गर्ने सोच रहेको उनीहरू बताउँछन् ।

यता कृषि ज्ञान केन्द्र झापाले साथी कृषि फार्म तथा प्रशोधन केन्द्रलाई रु सात लाखसमेत अनुदान दिने भएको छ । बेसार प्रशोधनका लागि उक्त फार्म परेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “बेसार खेतीमा प्रोत्साहन गर्न अनुदान प्रदान गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यसले कृषकलाई प्रोत्साहन हुनुका साथै क्षेत्रफल बढ्ने विश्वास छ ।” झापामा व्यावसायिक बेसार खेती खासै नभएको उहाँको भनाइ छ । रासस