विराटनगर । प्रदेश-१ प्रदेशसभाको बैठक नेकपा (माओवादी केन्द्र)का कारण अवरुद्ध भएको छ ।
माओवादीले आइतबार बसेको १६औं प्रदेशसभा बैठक अवरुद्ध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
प्रदेश सभामा बजेटमाथिको छलफल चलिरहेका बेला गत आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ गृह जिल्ला ओखलढुङ्गाका माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि व्यक्तिगत रुपमा खनिएका थिए ।
संसदीय मान्यता विपरित सांसदमाथि खनिएका मन्त्रीले माफी माग्नुपर्ने र उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने माग छ । तर सत्ता पक्ष तयार नहुँदा संसदमा अवरोध कायम रहेको हो ।
छलफलमा सत्ता पक्ष माफी माग्न र अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नमानेपछि बैठक अवरुद्ध गरेको र मन्त्रीले माफी मागेपछि मात्रै संसदको कामकारवाही अघि बढ्ने माओवादीले जनाएको छ ।












