काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले असार मसान्त भित्र सम्पुर्ण काम सम्पन्न गर्ने गरि काममा तिब्र दिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिए संगै क्रियाशिल सदस्य छानविन समितिलाई समय मै काम सम्पन्न गर्ने दबाब बढेको छ । देशैभरिका स्थानीय पालिकाको वडा वडाबाट सिफारिस हुने क्रियाशिल सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुंगो लगाउन समस्या परेको थियो ।
पुराना सदस्यहरुको क्रियाशिल सदस्यको नविकरणमा समस्या नभएपनि नयाँ सदस्य र विभिन्न पार्टीहरु एकिकरण भई समायोजनमा आएकाहरुमा विवाद देखिएको छ । क्रियाशिल सदस्यको सूची प्रमाणित गरेर वडा, गाउपालिका नगारपालिका प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हुदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ । छानविन समितिका सदस्य एंव केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरेले प्राप्त विवरणहरुलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समायमा छानविन गरि विवरण सभापतिलाई बुझाउन सकिने बताउनुभयो । प्राविधिक कामको चापलाई घटाउने काम गर्दे काम भईरहेको पनि उहाँले बताउनुभयो । समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानविन गरि टुंगो लगाउने समिति सदस्य घिमिरेले बताउनुभयो ।
नेपाली कांग्रेसको क्रियाशिल सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसको संगठनमा क्रियाशिल सदस्यलाई सक्रिय कार्यकर्ता मानिन्छ । छानविन समितिलाई प्राप्त भएको नामावली विवरण हेर्दा युवाहरुको ठूलो हिस्सा कांग्रेसमा रहेको समिति सदस्य घिमिरेले बताउनुभयो । प्राप्त विवरणमा ३० देखि ४० बर्षको उमेर समूहका सबै भन्दा बढी ४० प्रतिशत रहेको पाईएको समिति सदस्य घिमिरेले जानकारी दिनुभयो । कांग्रेसमा नेतृत्व विकाश क्रमशः युवा पुस्तामा सर्दै गएको क्रियाशिल सदस्यहरुको विवरणले देखाएको घिमिरेले बताउनुभयो ।
कांग्रेसको महाधिवेशन आगामी भदौ २३ गते भित्र अनिवार्य रुपमा गरिसक्नुपर्ने छ । यसैमा महाधिवेशन तयारीका कामहरु पनि भइरहेका छन् । नेपाली कांग्रेसमा क्रियाशिल सदस्यहरुले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउने छन् भने केन्द्रीय समितिका सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । कांंग्रेसको १४ औ महाधिवेशन आगामी भदौ १६ देखि १९ गते सम्म काठमाण्डौमा हुनेछ । कांग्रेसको १३ औ महाधिवेशन २०७२ फागुनमा काठमाण्डौमा भएको थियो ।












