काठमाडौं । आजबाट (बिहीबार) राष्ट्रिय सभाको आठौं अधिवेशन शुरु हुँदैछ । आजको राष्ट्रिय सभाको आठौं अधिवेशन अपराह्न ४ बजे आहृवान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१)ं बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको आठौं अधिवेशन आहृवान गरेकी हुन् । बैठकको प्रारम्भमा अधिवेशन आहृवान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने भएको हो ।
त्यस्तै यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले पेश हुने कार्यसूची तय गर्नेछ । अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ । बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ ।
प्रतिनिधिसभा नभएको अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न । प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीकासँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ ।
हाल राष्ट्रिय सभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीनजना मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीत सदस्य छन् । पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा. खिमलाल देवकोटा (बागमती, स्वतन्त्र) र दृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) राष्ट्रिय सभा अधिवेशनमा नयाँ प्रवेशी छन् ।












