यो हप्ता नेपाली मिडियामा यो तस्बिरले चर्चा पायो । यो तस्बिरमा देखिएका तीन व्यक्ति प्राय नेपाली मिडियाका परिचित नै हुन् । दुई जना पटक पटक सत्तामा पुगेका र एकजना सत्तामा पुगेर ‘टेष्टेड’ हुन बाँकी रहेका ।
तर यतिमात्र यो आलेखले कोट्याउन खोजेको प्रसंग होइन । प्रसंग नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको हो । यसैले तताएको छ काँग्रेसका नेताहरुलाई यतिबेला । प्राय भेटघाट, छलफल परामर्श त के लञ्चमै बस्न पनि अल्छी गर्ने काँग्रेसका नेताहरुलाई महाधिवेशनले नै कम्तीमा लञ्चका लागि भने जुराउन थालेको छ ।
फेरि प्रसंग यत्तिमा मात्र पनि सीमित छैन । किनभने यो लञ्च र तस्बिरले जानी नजानी विरासत बोक्ने यत्न गरेको छ । जुन नेपालको राजनीतिमा अमिल्दो मानिँदैन । किनभने दुनियाँमा विरासतको राजनीति त्यति रुचाइँदैन । तर नेपालमा यो बाहेकको प्राय राजनीति नै पाइँदैन । राजनीति पाइए पनि पद पाइँदैन ।
हो, तस्बिरमा देखिएका यी तीन भाइको भेट पनि त्यही विरासतको हो । अनि लाग्छ लञ्च पनि विरासतले नै जुराएको हो । किनभने यी तिनै जना आफ्ना पिताजीको विरासतबाट जोरिएका छन् ।
यी तीन भाइका पिताजीहरुको नामैमात्र लिँदा पनि नेपाली नागरिकले श्रद्धाले शिर झुकाउँछन् । यो देशमा उहाँहरुको योगदान, नेपालमा प्रजातन्त्र र समानताका लागि उहाँहरुका संघर्ष सुनको मसीले नै लेख्न मिल्ने औकातको छ ।
विपी कोइराला नेपाली काँग्रेसका संस्थापक मात्र नभएर एक दुरदर्शी नेता थिए । विपी कोइरालालाई नेपालका एकजना प्रधानमन्त्री या काँग्रेसका संस्थापकको रुपमा मात्र हेर्दा उहाँको योग्यता थोरै हुन्छ । उहाँका साहित्यिक कृतिबाट अभिव्यक्त विचारले नेपालको राजनीति मात्र बोल्दैन, सिंगो युगकै भविष्यबाणी गर्दछ ।
राणाहरुले खोपीमा राखेको राजसंस्थालाई निकालेर महाराज बनाउने उहाँको विसं २००७ को क्रान्तिपछि पनि राजा महेन्द्रले उहाँलाई दिएको दुःख पछि पनि नेपालमा राजसंस्था चाहिन्छ भनेर होस् या चीन र भारतसँग सन्तुलित कूटनीतिक सम्बन्ध स्थापना सम्मका उहाँका विचार हेर्दा उहाँलाई नेपालको मात्र नेताको कदमा सीमित नगर्दा पनि थोरै नै हुन्छ ।
तर, अहिले विपी पुत्रको विरासत लिन खोज्ने तस्बिरमा देखिएका उहाँका सुपुत्र तथा काँग्रेसका महामन्त्री सशांकमा त्यो खोज्न नसकिने तथ्य उहाँका बोली, व्यवहार र विचारले देखाइ नै सकेका छन् । यद्यपि, उनलाई सत्तामा राखेर हेर्न भने बाँकी नै छ ।
नेपाली राजनीतिमा त्यागको एक पर्याय हो गणेशमान सिंह । राणा शासनका विरुद्धमा क्रान्ति देखि लिएर विसं २००७ मा प्रजातन्त्रको पुनस्र्थापनासम्मको उहाँको संघर्ष र त्यसपछि प्रधानमन्त्रीका रुपमा राजा वीरेन्द्रले उहाँलाई गरेको प्रस्तावमा उहाँले नै कृष्णप्रसाद भट्टराईलाई अघि सारेको तथ्यको यतिखेर उदाहरण मात्र दिने हो भने पनि त्यसले एकादेशको दन्त्यकथाको उपमा पाउला भन्ने डर हुन्छ ।
किनभने हिजोआज प्रधानमन्त्रीका लागि कुनै पनि नेताले के सम्म गर्न सक्छ भन्ने हर्कतका हामी साक्षी नै छौँ । अहिलेको यो दुनियाँमा गणेशमानको त्याग, तपस्या र योगदानको स्मृति असान्दर्भिक नै हुनसक्छ ।
उहाँलाई सम्झिँदा त्यो विरासतमा उक्लिन सक्ने कुनै नेता अहिले यो देशमा छ जस्तो लाग्दैन । अधिकारले छोराले दाबी गर्न सक्लान तर त्यो राजापछिको युवराज मात्र हुनसक्ला योग्यता र क्षमताले हुने नेतामा पर्दैन ।
यो तस्बिरमा देखिएका एकजना नेता प्रकाशमान सिंह गणेशमानकै सुपुत्र हुन् । तर पटक पटक सत्तामा पुगेर टेष्टेट नै भइसकेका । त्यसो भए दशकौँ अघिका गणेशमानको संघर्ष सम्झिएको नेपाली समाजले केही वर्ष अघि मात्र सत्तामा रहेका प्रकाशमानबाट भए गरेको कुनै उल्लेखनीय कामको स्मरण गर्न सक्ला ? सक्दैन । किनभने सम्झिन लायक त्यस्तो केही पनि छैन ।
तस्बिरमा देखिएका अर्का नेता हुन् विमलेन्द्र निधि । उनी महेन्द्र नारायण निधिका सुपुत्र । नेपाली राजनीतिमा महेन्द्र नारायण निधिको नाम मात्र पनि काफी छ । अहिले मधेशको नाममा राजनीति गर्नेहरुलाई उहाँको उदाहरण दिने हो भने त त्यस्ता पनि मधेशमा नेता थिए र भन्ने जस्तो लाग्छ । किनभने निधि राजनीतिलाई समाज सेवा ठान्नुभयो अहिलेका नेता व्यापार र कमाई भन्छन् । लाग्छ यो देशको मधेशले यस्ता नेता अव पाउन मुस्किल छ ।
तर के समथर मधेशका नेता महेन्द्रनारायणको त्यो उचाइको विरासत उनका छोरा विमलले थेग्न सक्छन् ? निश्चितै सबैको एउटै उत्तर आउँछ– यीनको उचाइले पुग्दैन । सत्तामा यीनको लिप्सा यति छ कि त्यसले मधेश त के उनी आफ्नो निर्वाचन क्षेत्रको परिधिबाट बाहिर निस्किनै सक्दैनन् ।
आफ्नै दल काँग्रेसका सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री भएका बखत यीनले प्रहरी महानिरीक्षकजस्तो एकजना कर्मचारी भर्ना गर्दा छताछुल्ल पारेको लोभले उनको कद उबेलै पनि निर्धारण गरेको थियो । यहाँसम्म कि उनले आफूले चाहेको व्यक्तिलाई आफू गृहमन्त्री भएका बेला महानिरीक्षक नियुक्त गर्न नसकेको र प्रधानमन्त्री देउवाले हस्तक्षेप गरेको भनेरै सार्वजनिक रुपमै उत्रिएका थिए ।
यहाँ कसैले खाना खाएको विषयको आरिस गर्नु यो आलेखको आसय पटक्कै होइन । खाना मनमिल्ने जसकोमा गएर पनि खान पाइन्छ । तर यहाँ त्यतिमात्र नभएर यो खानाको प्रचार भित्रको नियत अर्कै देखिएकोले यहाँ लञ्चले नै प्राथमिकता पाएको हो ।
यही हप्ता यी तिनै जनाले तिनै जनाको घरमा लञ्च खाए र तस्बिर देखाए । आ–आफ्ना सञ्चार सम्पर्कमार्फत् नै उनीहरुले यो तस्बिर सार्वजनिक गर्न लगाए । त्यतिमात्रमा नियत सकिएन ।
किनभने हरेक तस्बिरको पोष्टमा विपी, गणेशमान र महेन्द्रनारायणका छोराहरु भनेर प्रचार गराइएको छ । काँग्रेसीजनले ती तीनको नाम लिँदा श्रद्धाले शिर झुकाए पनि यी तीनमा भने श्रद्धायोग्य भरोसा नै भेट्दैनन् । सायद त्यसैले पनि ती शीर्षस्थ र सम्मानित नेताको नाम जोडेर आफूहरुको प्रचार गरिएको होला ।
आफ्ना पिताजीको विरासत लिन पाउनु उनीहरुको अधिकार त हो तर पिताजीकै छायाँ छोरामा नदेख्दा कार्यकर्ताको दोष कदापि देखिन्न । यी तीन सदैव नेपाली जनताको हक हितका लागि एकै ठाउँमा भएका त छैनन् तर आसन्न महाधिवेशनको निउँमा भात खाने एउटै टेबल जुरे पनि काँग्रेसीजनको मत जित्ने दिन जुर्न त गाह्रै छ ।
अहिले सम्मको यी तीनको कामले यस्तै देखाएको छ । त्यसैले यो संयोगलाई विरातको लञ्च बाहेक अहिले नै कुनै अरु संज्ञा दिन उचित होलाजस्तो यो पंक्तिकारलाई लागेन । विरासत त खान्कीले नभएर कामले धानेको राम्रो हो । यो भन्दा बढी त महाधिवेशनमा कार्यकर्ताले देखाउने नै छन् ।












