काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरू ओसारप्रसार गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सन् २०२१ जुलाई १ देखि लागू हुने सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरूमा अब निगममार्फत् मात्र सामान तथा चिठ्ठीपत्रहरू ढुवानी हुनेछन् ।
यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरूमार्फत् यो काम गराइरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीहरूलाई भुक्तानी भइरहेको करोडौं रूपैयाँ देशभित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिमप्रकाश पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका छन् ।












