७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण



अ+ अ-

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको हो ।

दिक्तेल बजारस्थित किरात चोकमा सोमबार जेब्रा क्रसको रेखा कोरेर कामको सुरुआत गरिएको छ । नगरपालिकाको रु नौ लाख ९३ हजार आठ सय सातमा सम्पन्न हुने जेब्राक्रस तथा स्पिड ब्रेकर कार्यक्रमको शुभारम्म नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले संयुक्तरूपमा जेब्रा क्रसको रेखा कोरेर गरेका हुन् ।

आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी नगरपालिकाबाट स्वीकृत भएको ‘होम्स तथा सडक मर्मत कार्यक्रम’ अन्तर्गत दिक्तेल बजारका विभिन्न १६ ठाउँमा स्पिड ब्रेकर तथा १० ठाउँमा जेब्राक्रस निर्माण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । सजीव निर्माण सेवा कम्पनी खोटाङले कोटेशनमार्फत जिम्मा लिएको कार्यक्रमअन्तर्गत अल्छेढुङ्गा–अस्पताल चोक सडकखण्डमा कजवेसमेत निर्माण गर्नुपर्ने जनाइएको छ ।

सम्झौताअनुसार विभिन्न १० ठाउँमा स्पिड ब्रेकरको कामसमेत सुरु गरिएको कम्पनीका प्रतिनिधि श्यामकुमार पौडेलले जानकारी दिए । “जेब्राक्रसको काम दुई–तीन दिनभित्रै सम्पन्न गर्छौँ । स्पिड ब्रेकरका लागि १० ठाउँमा फलामे डण्डी बिछ्याउने काम सम्पन्न गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा एकातर्फको सम्पन्न गरेर पुनः अर्कोतर्फ निर्माण गर्ने योजना बनाएका छौँ । तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्छौँ ।”

ढलानको काम भइरहेको दिक्तेल बजारको सडकमा स्पिड ब्रेकर तथा जेब्राक्रस नहुँदा यसअघि पटक–पटक दुर्घटना हुँदै आएको छ । सवारी सञ्चालन गर्दा तीव्रगतिका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले स्पिड ब्रेकर तथा जेब्राक्रस बनाउन नगरपालिकाको तर्फबाट आर्थिक एवं प्राविधिक सहयोग गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।

गत जेठ २० गते मोटरसाइकलको ठक्करबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको निधनसमेत भएको थियो । दिक्तेल बजारस्थित आफ्नै घर नजिक रहेको सपिङ कम्प्लेक्स अगाडि प्रदेश१–०५–००१प ६८३७ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका ५६ वर्षीय नेता श्रेष्ठको उपचारका क्रममा निधन भएको हो । रासस