२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलको पनि सङ्ग्रहालय ? हेर्नुहोस् चीनको अद्भूत विकास नमूना



अ+ अ-

चेतनाथ आचार्य

चीन । तपाईंले विभिन्न सङ्ग्रहालयको अवलोकन त अवस्य गर्नु भएकै होला। सङ्ग्रहालयमा केके वस्तु प्रदर्शनीमा राखिएका हुन्छन्?पुराना सिक्का, पहिलेका शासक अथवा कुनै महत्वपूर्ण ऐतिहासिक व्यक्तिले प्रयोग गरेका भाँडाकुँडा, पोशाक, पुराना भाँडाकुँडा, अल्पसङ्ख्यक जातिका इतिहास झल्कने वस्तुहरु, गरगहना आदि। त्यति मात्र होइन बाजागाजा, ऐतिहासिक उपहारहरु, वर्तमान समयमा अप्राप्त हुने बस्तुहरु, रहनसहन र रीतिरिवाज झल्कने सामान सङ्ग्रहालयमा राखिएका हुन्छन् नै। सङ्ग्रहालयको अवलोकन भ्रमणले हामीलाई इतिहासप्रतिको जानकारी, पूर्खा तथा अग्रजको तत्कालीन अवस्था, सामाजिक सद्भाव, विकास, परिवर्तन, समयको तुलना, ज्ञान, मनोरञ्जन र विवेक प्रदान गर्छ। तपाईंले पनि कुनै न कुनै सङ्ग्रहालयको भ्रमण कुनै समयमा गर्नु भएकै होला।

यहाँ चर्चा गर्न लागिएको सङ्ग्रालय चाहिँ अलिक फरक प्रसङ्गको छ। धेरै व्यक्तिका लागि कल्पनाभन्दा अलिक बाहिरको जस्तो लाग्ने यो सङ्ग्रहालय हो 'पुल सङ्ग्रहालय'। हजुर, यो चीनको स्वायत्त प्रदेश सिन्च्याङको 'यिली क्वुचीक्वो पुल सङ्ग्रहालय' हो। यस सङ्ग्रहालयको भ्रमणले सिन्च्याङको भौतिक पूर्वाधार र यातायात विकासले कसरी फड्को मार्न सम्भव भयो भन्ने कुरालाई स्पष्ट पार्दछ। यो सङ्ग्रहालय सिन्च्याङ स्वायत्त प्रदेशको हुओछङ काउन्टीको यिलीकजाक स्वायत्त प्रिफेक्चरमा पर्दछ।

सन् २०१९ को जुन महिनामा निर्माण सम्पन्न भएको यो पुल सङ्ग्रहालयको क्षेत्र २ हजार ५ सय वर्ग मिटर रहेको छ। भवन भित्रको प्रदर्शनी कक्ष मात्र चाहिँ ९ सय वर्ग मिटरको रहेको छ तर बाहिरपट्टिको बरण्डाबाट दुईवटा पहाड जोडेको विशाल र धेरै उचाइमा रहेको पुल नजिकै छ। पुलको आडमै बनाइएको यो सिन्च्याङको पहिलो विषयगत सङ्ग्रहालय हो। सङ्ग्रहालयको अवलोकनकर्ताले बरण्डामा गएर पुलको फोटो खिच्ने र पुललाई पृष्ठभागमा राखेर आफ्नै फोटो खिच्ने गर्दछन्। संयोग कस्तो पर्योक भने जुन २२ तारिख मंगलबार हामीले पुल सङ्ग्रहालयको अवलोकन गर्दा चाहिँ पानी दर्किरहेकाले बरण्डाबाट पुलको फोटो खिच्न अनुकूल भएन। पानी परिरहेकै समयमा पनि बेइजिङबाट आएका विदेशी तथा चिनियाँ पत्रकारहरुले छाता ओडेर पुलको फोटो खिच्यौँ तर वर्षात्‌को समय र खराब मौसमका कारण मनले चिताएजस्तो आकृति क्यामरामा कैद भएन।

चाहेजस्तो फोटो खिच्न नपाए पनि छोटो समयमै सिन्च्याङ स्वायत्त प्रदेशले गरेको भौतिक पूर्वाधारको विकासको जानकारी पाउँदा चाहिँ केही लेख्ने जाँगर चल्यो। सिन्च्याङको भौगोलिक संरचना पनि नेपालसँग मिल्दोजुल्दो छ। विशाल चट्टानी पहाड भएकाले एक्प्रेस सडक धेरै उचाइका पुलबाट अथवा सुरुङ बनाएर पहाड छेडेर बनाइएका छन्।

सङ्ग्रहालयको पृष्ठभागमा रहेको पुलको नाम नै क्वुचीक्वो पुल हो जसको नामबाटै सङ्ग्रहालयको पनि नाम राखिएको छ। यस पुलले चीनमै थुप्रै रेकर्ड कायम गरेको रहेछ। सन् २००६ को अगष्ट १६ मा निर्माण सुरु भएर सन् २०११ सेप्टेम्बर ३० मा निर्माण सम्पन्न भएको यो पुल ७ सय मिटर लामो छ। यसमा अत्याधुनिक प्रविधि जस्तै तापक्रम नियन्त्रण गर्ने मास कन्क्रिट प्रविधि, टावर बिम निर्माणमा एसिन्क्रोनस प्रविधिको प्रयोग, हाड्रोलिक क्लाइमिङ फ्रेमवर्क र स्वाचालित मोबाइल फ्रेमवर्क प्रयोग गरिएको छ। एक लाख ५० हजार टनको यो पुलको एउटा पिलरको वजन १२ हजार ५ सय टनको छ। पुलको उचाइ २ सय मिटरको छ र यसका पिलरहरु क्रमशः २०९.५ र २१५.५ मिटर उचाइका छन्। यो पुल नै चीनमा निर्मित दुईवटा स्टिल स्ट्रस ग्रिडर केबल बेस पहिलो पुल हो र सिन्च्याङको सबैभन्दा अग्लो पुल पनि हो।

पुल सङ्ग्रहालयमा प्रदर्शित अडियोभिडियो तथा विभिन्न फोटोहरुले सिन्च्याङको भौतिक पूर्वाधारको विगत र वर्तमानलाई प्रष्ट्याइएको छ। निर्माण हुनुभन्दा पहिलेको अवस्था, निर्माण हुँदै गर्दाको अवस्था र सम्पन्न भएपछिको अवस्थालाई फोटो तथा भिडियोबाट प्रदर्शनी गरिएको छ। विद्युत्तीय नमूनाहरु बनाएर गरिएको प्रदर्शनीले अवलोकनकर्तामा अझै बढी उत्साह र जाँगर थप्ने गर्दछ।

संग्रहालयलाई विभिन्न ६ भागमा वर्गीकरण गरिएको छ। पहिलो भागमा सिन्च्याङभित्र रहेका सडक तथा पुलहरुको समग्र जानकारी प्रस्तुत गरिएको छ। यातायातमा सिन्च्याङ रेशमी मार्ग आर्थिक क्षेत्रमा महत्वपूर्ण हब मानिन्छ। दोस्रो भागमा सिन्च्याङका सडक र पुल निर्माणको इतिहास देखाइएको छ। विशेष गरी सन् १९५० देखि १९७० को बीचमा सिन्च्याङले सडक तथा पुल निर्माणमा महत्वपूर्ण उपलब्धि पाएको हो। तेस्रो भागमा राजमार्ग र पुललाई कसरी आधुनिकीकरण गरियो भन्ने कुरालाई आकर्षक तरिकाले प्रष्ट्याइएको छ। सन् १९८० देखि २०१८ को बीचमा सिन्च्याङमा २ लाख ९ हजार २ सय किलोमिटर राजमार्ग निर्माण भए भने एक्स्प्रेस राजमार्ग मात्र ७ हजार ६ सय ४० किलोमिटर निर्माण भयो। प्रदर्शनीको चौथो भागमा क्वुचिक्वो पुल निर्माणको प्रकृयालाई समेटिएको छ। यो भाग नै सङ्ग्रहालयको मुख्य प्रदर्शनी पनि हो। यो पुल निर्माणमा थुप्रै चुनौतिहरु रहेका थिए रे। कठिन भौगोलिक अवस्था, थुप्रै भौगर्विक प्रकोप, कमजोर परिस्थिति, विषम मौसम, सधैँको चिसोपन र साँगुरो गल्ली जस्ता चुनौतिसँग भिडेर यो पुल निर्माण भएको हो र यसलाई चीनकै अदभूत पुल मानिन्छ। त्यसैले सङ्ग्रहालय पनि यहीँ स्थापना गरिएको हो। पाँचौ भागमा सिन्च्याङका राजमार्ग प्रदर्शनी गरिएको छ भने छैटौँ भागमा विशाल पर्दा भएको थिएटर छ। जहाँ छोटो डकुमेन्ट्रीद्वारा सिन्च्याङको विकासको जानकारी दिइन्छ।

चीनको पश्चिमी क्षेत्र तुलनात्मक रुपमा कम विकसित मानिन्छ। पूर्वी क्षेत्रका प्रान्तहरुको विकास र ती क्षेत्रका वासिन्दाको प्रतिव्यक्ति आय तुलनात्मक रुपमा उच्च छ। चीनको पश्चिमी क्षेत्रमा मूलतः सिन्च्याङ, तिब्बत, छिङहाई प्रान्त पर्दछन्। त्यसपछि सिचुवान, कान्सु, युन्नान लगायतका प्रान्त पनि पश्चिमी क्षेत्रमै रहेका छन्। चीनको पश्चिमी क्षेत्रको विकासले अप्रत्यक्ष रुपमा नेपाललाई पनि प्रभाव पार्ने गर्छ। तिब्बतको ७० प्रतिशतभन्दा बढी वैदेशिक व्यापार नेपाल निर्भर छ। नेपालसँगको सीमा क्षेत्रको भौतिक पूर्वाधार विकासले सीमा क्षेत्रका नेपाली बजारमा पनि गुल्जार ल्याउँदैछ। कान्सु प्रान्तको लान्चौमा निर्मित विशाल सुख्खा बन्दरगाहको लक्ष्य नेपाल तथा नेपाल भएर दक्षिण एसियामा हुने व्यापार हो।

चीनको पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रबीचको विकासको असन्तुलनलाई कम गर्नका लागि चीनले पछिल्लो एक दसकदेखि 'पश्चिमतिर हेर' नीति ल्याएको छ। चीनमा गत वर्ष सम्पन्न तेर्हौँ् पञ्चवर्षीय योजनामा चीनका पश्चिमी क्षेत्रमा धेरै ठूलो लगानी गरिएको छ र विकास निर्माणलाई पश्चिमतिर केन्द्रित गरिएको छ। यो वर्षदेखि सुरु भएको चौधौँ पञ्चवर्षीय योजनामा चीनका पश्चिमी क्षेत्रले थप सुविधा पाएका छन् र विकास निर्माण तीब्र गतिमा भइरहेको छ।

पछिल्लो समय नेपालको भौतिक पूर्वाधारमा चिनियाँ सहयोग र लगानी उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ। नेपालका विमानस्थल, जलविद्युत परियोजना, सुरुङ मार्ग लगायतका क्षेत्रमा ठूलो मात्रामा चिनियाँ लगानी र प्रविधि नेपालले भित्र्याउँदैछ। केरुङबाट काठमाडौँ जोड्ने भनिएको रेलमार्ग निर्माणमा पनि भौगोलिक कठिनाइको कुरा बारम्बार उठ्ने गरेको छ। तर, सिन्च्याङको यो क्वुचीक्वो पुल सङ्ग्रहालयको अवलोकन र प्राप्त जानकारीपछि केरुङबाट काठमाडौँ जोड्ने रेलमार्ग त्यति कठिन छैन भन्ने अनुभूति भएको छ।