२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहास बन्दै ढिकी जाँतो



अ+ अ-

गल्याङ । गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।

तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि समेत ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा लोप हुँदै गएको हो ।

बिहान सबेरै उठेर अथवा साँझ ढल्केपछि महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ फल्ने, गहुँ, कोदो, मकै, फापर र दाल पिस्ने हुन्थ्यो । गाउँमा सबैका घर ढिकी वा जाँतो हुन्थ्यो । भालेको डाकोसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता सबैलाई थियो । कुटानी–पिसानीका आधुनिक मिलहरुले आजभोलि सबैलाई सजिलो बनाएको यहाँका महिलाहरु बताउँछन् ।

“बिहान उज्यालो नहुँदै ढिकी, जाँतोको काम हुन्थ्यो, साँझको खाना खाएर पनि राति अबेरसम्म कुट्न, पिस्न पथ्र्यो”, गल्याङ नगरपालिका–११, भाटीकी ७९ वर्षीय वसन्ती सोमै मगरले भन्नुभयो, “हिजोआज बिजुलीबाट चल्ने मिल आएपछि सुविस्ता भएको छ ।”

“ढिकी जाँतोमा पिसेको खाना मीठो र पोषिलो हुन्थ्यो, बिजुलीमा पिसेको खाना नमीठो हुँदोरैछ”, उहाँले भन्नुभयो, “हामीले धेरै दुस्ख पाए पनि बिजुलीबाट चल्ने मिल आएपछि छोरीबुहारीले सुक्ख पाएका छन् ।”

भाटीमै बस्ने लीला सोमै मगरले कुटानी–पिसानीको काम गर्न नपर्दा खेतबारी, केटाकेटीलाई समयमा विद्यालय पठाउने र सरसफाइको काम गर्न सहज भएको बताउनुभयो । “ढिकी–जाँतो गर्ने काम मैले पनि बेहोर्नु पर्‍यो, टाढा पुगेर दुई–तीन घन्टा पालो पर्खेर पानी ल्याउनु पथ्र्यो,  ढिकी–जाँतो गर्दा, पानी बोक्दामै दिन जान्थ्यो”, उहाले भन्नुभयो “अहिले धेरै सहज भएको छ, हामी समयमा स्कुल जान नपाए पनि छोराछोरी समयमा स्कुल जान र पढ्न पाएका छन् ।”

सोही ठाउँकी पार्वती पल्ली मगरले ढिकी, जाँतो नहुँदा विवाह र पूजाआजामा बारा ९बटुक० बनाउने गेडागुडी कुट्न र पिस्न नपाएको बताउनुभयो ।”

“ढिकीमा कुटेर बनाएको बटुक निकै स्वादिलो हुन्थ्यो, ढिकीमा कुटेर बनाइएको सेलरोटी काँडेदार र आकर्षक हुन्थ्यो, पहिले घरघरै हुने ढिकी, जाँतो अहिले सात गाम डुल्दा पनि पाइँदैन”, उहाँले भन्नुभयो, “गाउँमा एउटामात्र ढिँकी छ, त्यही पनि उक्काएर फाल्न खोजेका थिए, पुराना पुस्तालाई देखाउन हुन्छ भनेर अडाएर राखेका छौँ, त्यही पनि राम्रोसँग काम गर्दैन ।”

भाटीकै मनिसा पल्ली मगरले कुटानी–पिसानीका आधुनिक उपकरणको प्रयोगले आफूहरुलाई समयको बचत गराएको बताउनुभयो । “बिहान घरको काम गरिन्छ, दिउँसोमा कार्यक्रम, उद्यमशील तालिममा सहभागी बन्ने समय मिल्छ”, उहाँले भन्नुभयो, “समय बचत भएकाले सिकेका सीपलाई बचत गरेर करेसाबारीमा तरकारी लगाउने, धागाबाट टोपी, स्वेटर, लेस, आउटर बुनेर थोरैधेरै आयआर्जन पनि गरेकी छु ।”

गाउँघरमा पेट्रोल, डिजेल र बिजुलीबाट चल्ने आधुनिक मिलमा कुटानी–पिसानी गरेबापत शुल्क र मानापाथी दिने परम्परा छ, गल्याङ नगरपालिका–११, का अध्यक्ष दलबहादुर सिञ्जालीले ढिकी, जाँतो, हातेमुसल, ओखल, बाँसबाट बनेका सुपो डालो लोप हुँदै गएकाले वडाले संरक्षणको अभियान थाल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजो मानिसका अभावका सारथी, आज मासिन हुँदैन, गाउँमा त्यस्ता चीज हराउँदै गएकाले चिन्ता बढाएको छ ।” “हाम्रो वडामा मगरहरुको बाहुल्यता छ, मगर समुदायका पहिचानसँग सम्बन्धित परम्परा र संस्कारहरु पनि नाश हुँदै गएका छन्”, उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई देखाउन भए पनि लोपोन्मुख अवस्थामा रहेका ढिकी, जाँतो, कृषि औजार, वेशभूषा, परम्परा र संस्कार थोरैधेरै बजेट विनियोजन गरेर बचाउने योजना छ ।” रासस