काठमाडौं । संसद (प्रतिनिधि सभा) विघटनविरुद्धको मुद्दा सुनुवाइ गर्नका लागि हालै गठन भएको संवैधानिक इजलास मंगलबार पनि बस्न सकेको छैन । यसअघि न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास सोमबार पनि स्थगित भएको थियो ।
सोमबार इजलास नबस्नुमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएकोले भनिएको थियो । तर त्यो सूचना पनि अदालतले गरेको नभई अपुष्ट रुपमा बाहिर आएको थियो ।
संवैधानिक इजलास मंगलबार पनि अहिलेसम्म बसेको छैन । तर पनि यो इजलास नबस्नुको कुनै पनि कारण भने कहीँ कतैबाट खुलाइएको छैन ।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई सो इजलासमा तोकिएका छन् ।












