कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
जसका लागि विश्वासको मत लिन पठाएको पत्र आइतबार दर्ता भइसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभामा एमाले ओली पक्षका सांसदले समर्थन फिर्ता लिएको कुरा सचिवालयमा दर्ता भएको बताएपछि प्रतिपक्षी दलले पनि मुख्यमन्त्री भट्टलाई यसबारे विचार गर्न सुझाएका थिए।
आठौं अधिवेशनको शुक्रबार बसेको दोस्रो बैठकमा सांसद पठानसिंह बोहराले एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षका रूपमा रहने बताएका थिए ।
यता मुख्यमन्त्री भट्टको सचिवालयले प्रदेश सरकारसँग बहुमत रहेको दाबी गरेको छ । वर्तमान अवस्थामा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारमा एमाले माधव नेपाल पक्षको पूर्ण समर्थन रहेको छ ।
प्रदेश सभामा ५३ जना सदस्य रहेकोमा माओवादी केन्द्रका सांसद झपट बोहरा एमाले प्रवेश गरेपछि पदमुक्त भएका छन् । विश्वासको मत पाउन मुख्यमन्त्रीलाई २७ मत आवश्यक पर्छ ।
सभामा एमालेका सभामुखसहित २५ जना सांसद रहेकोमा ओली पक्षका ७ र माधव नेपाल पक्षका १८ जना रहेका छन् ।
यस्तै कांग्रेसका १२ र जसपाका २ जना प्रदेशसभा सदस्य रहेका छन्।












