२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौरीपालनमा सफल रामकुमारी



अ+ अ-

डडुवा । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी खत्रीले तीस वर्षअघि मौरीपालन सुरु गर्दा तत्कालीन कृषि विकास कार्यालयमा यससम्बन्धी कार्यक्रम थिएन ।

विसं २०५० मा रेडियो नेपालबाट प्रसारण हुने कृषि कार्यक्रम सुनेर मौरी पाल्ने योजना बनाउनुभएकी रामकुमारी कार्यालयमा पुग्दा कार्यक्रम नभएको बताएपछि प्राविधिक सल्लाह मात्र लिएर फर्कनुभएको थियो ।

“त्यतिबेला अहिलेजस्तो पुस्तक पढ्ने, भिडियो हेर्ने सुविधा थिएन, रेडियोमा सुनेको भरमा मौरी पाल्न थालेकी थिए”, उहाँले भन्नुभयो, “राम्रो ज्ञान भएका प्राविधिक जनशक्ति भेट्टाउन पनि मुस्किल थियो, त्यस्तो अवस्थामा मौरीपालन गर्नु मेरा लागि चुनौती थियो, तर सफल भएँ ।”

तीन वटा काठको घारबाट मौरीपालन सुरू गरेकी उहाँसँग हाल ८० देखि एक सय आधुनिक घारमा मौरी टुट्दैनन् । अप्ठ्यारा र समस्याबाट सिक्दै उहाँले मौरीपालनमा तीन दशक बिताउनुभएको छ । मौरीपालन सफल भएपछि बसाइँसराइ गरेर चितवन जाने रामकुमारीको परिवारको योजना रोकिएको छ ।

डडुवाका साथै छिमेकी गाउँ कुहुँ र जिल्लाका विभिन्न ठाउँका कृषकलाई मौरीपालनमा आकर्षित गराउन तथा विस्तार गर्न उहाँको महत्वपूर्ण भूमिका छ । डडुवाका साथै उहाँले भिरमुनि र तोरीपानीमा रहेका आफन्तको जग्गामा घारसहितको मौरी लगेर पाल्नुभएको छ ।

उहाँ मौरीपालन व्यवसायबाटै परिवारलाई आत्मनिर्भर बनाउन सकेकामा सन्तुष्ट हुनुहुन्छ । “चार छोराछोरीलाई बेनी र काठमाडौँमा क्याम्पस पढाउन श्रीमान्को जागिरले मात्र सम्भव थिएन”, उहाँले भन्नुभयो, “छोराछोरी पढाउने र घरखर्च चलाउने स्रोत मौरी नै हो ।”

सेरेना जातको मौरी पालेकी रामकुमारीले घारसहितको मौरी र मह दुवै बिक्री गर्दै आउनुभएको छ । खत्री सञ्चालक रहेको सिद्धिविनायक मौरीपालन केन्द्र म्याग्दी मौरीको स्रोत केन्द्र पनि हो । उहाँले वार्षिक एक सय घारसहित मौरी र एक मौसममा एक सय किलोग्रामसम्म मह उत्पादन गर्नुहुन्छ ।

मौरीसहितका घार रु १० हजार र महलाई प्रतिकिलो रु एक हजार सात सयका दरले बेच्ने गर्नुभएको छ । “यसपाली घारसहितका मौरी बेच्नलाई ५० घार मौरी छुट्याएर राखेको छु, बजारको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो, “मौरी बेच्नलाई मह निकालिएन, मह जति पनि बिक्री हुन्छ, यसपाली पालिका र कृषि ज्ञान केन्द्रमा मौरीसहितका घार वितरण गर्ने कार्यक्रम कम भएकाले बिक्री नभएको हो ।”

गाउँघरका साथै जिल्ला सदरमुकाम बेनी बजार र विदेशमा रहेकाले कोसेलीका रुपमा मह किनेर लैजाने गर्छन् । जापान, कोरिया, अस्टे«लियामा रहेका आफन्तलाई डडुवाको मह किनेर कोसेली पठाउने गरेका छन् । मौरीपालन गर्ने नयाँ कृषक घारसहितको मौरीका ग्राहक हुन् ।

रामकुमारीले डडुवाकै बालबहादुर विकले बनाएको घार किनेर त्यसमा मौरी राखेर कृषकलाई बेच्ने गर्नुभएको छ । खत्रीसँग मौरी पाल्ने कृषकले परामर्श लिने गर्छन् । स्वादिलो, पोषिलो र शक्तिवद्र्धक मह धार्मिक कार्यमा पनि प्रयोग हुन्छ । चरन अभाव, अस्वस्थ प्रतिस्पर्धा र सीमित बजारलाई उहाँले मौरीपालनको चुनौतिका रुपमा लिनुभएको छ । रासस