काठमाडौँ । सर्वोच्च अदालतमा नागरिकता अध्यादेशविरुद्धको रिटमाथिको सुनुवाइ सुरु भएको छ ।
सरकारले ल्याएको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ भएको हो ।
वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता कुल बहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका उप(महासचिव लक्ष्मण पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाई दायर रिटमा सुनुवाइ भइरहेको छ ।
शुक्रबार नै नागरिकता अध्यादेशविरुद्ध परेका रिटमा सुनुवाइ गर्न बरिष्ठ न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन भएको थियो ।
नागरिकता सम्बन्धी अध्यादेशविरूद्धको रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास तोकेका छन् ।
आजको इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्।
नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायतका ६ रिटमाथि आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।












