९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलमा अक्सनमा सन्दीप अनसोल्ड



अ+ अ-

एजेन्सी । नेपाली क्रिकेट टिमका लेगस्पिनर तथा कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन् । 

शनिबार बेंगलोरमा भएको पहिलो दिनको अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले आफ्नो टिममा नराखेका हुन् । 

सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ रहेको थियो । 

पहिलो दिनको अन्तिम सेटको अन्तिम नम्बरमा परेका सन्दीप अनसोल्ड भएका हुन् । गत वर्ष पनि सन्दीप अनसोल्ड भएका थिए । 

सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स ( हाल दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारु अक्सनमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । 

सन्दीपसँगै नाम चलेका स्टार खेलाडीहरु सुरश रैना, स्टिभ स्मिथ, आदिल राशिद, सकिब अल हसन, मुजिब उर रहमान, उमेश यादव, मोहम्मद नाबी, डेविड मिलर, इमरान ताहिर एडम जाम्पा र अमित मिश्रा अनसोल्ड रहेका छन् । 

यद्यपि, आज (आइतबार)को दोस्रो राउन्डमा कुनै टोलीले आवश्यक परे सन्दीपलाई किन्न सक्ने सम्भावना भने रहेको छ । अन्तिम समयमा कुनै टोलीले उनलाई टिममा समावेश गरेको खण्डमा उनले न्यूनतम मूल्य प्राप्त गर्नेछन् ।