काठमाडौं । नेपालमा हाल ब्ल्याक फंगस भनिने म्युकरमाइकोसिसबाट १० जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार देशभर १० वटा केस फेला परेको छ । सामान्यतया ४५-६५ उमेर समूहका व्यक्तिमा म्युकरमाइकोसिस देखिएको उनको भनाई छ ।
माटो, धारा, फोहोरको थुप्रो, करेसाबारी जताततै पाइने म्युकर नामक कालो ढुसीका कारण हुने यो संक्रमण कोरोनाभाइरसका विरामीमा बढी देखिएको छ । चिकित्सकहरुका अनुसार शरीरको रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम भएका बेला यसले छिटो आक्रमण गर्दछ ।
म्युकरमाइकोसिसको संक्रमण हुँदा विशेषतः नाक बन्द हुन्छ। पहेँलो पिपजस्तो वा रगत मिसिएको सिगान वा खकार आउँछ। आँखाको नानी दुख्ने, आँखा वा अनुहारको एक पाटो सुन्निने, अनुहारको छालामा छोएको थाहा नहुने वा कम थाहा हुने हुन्छ ।
त्यस्तै, आँखा वरपर वा नाकको छालाको रङ रातो, निलो वा कालोजस्तो देखिन्छ। यसले विशेष गरी नाक, आँखा, टाउको र आन्द्रामा संक्रमण गर्छ।
यसको मृत्युदर ५० प्रतिशत रहेका कारण यसको जोखिम अत्यन्तै बढी रहेको चिकित्सक बताउँछन् ।












