काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८र७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य शुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा शुरु गरी छिटो परिणाम ल्याउनका लागि अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको २ दिनपछि देखि नै बजेट कार्यान्वयनको गृहकार्य शुरु गरेको हो ।
सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिनु भएको थियो।उहाँले भन्नुभयो, "बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं । बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिका सहित अघि बढ्नुहोस्, बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ ।"
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोत सम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताउनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरु उपस्थिति रहेको थियो। यसैगरी नियमितरुपमा अर्थ मत्रालय र सम्बन्धित मन्त्रालय तथा निकायहरुसँग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने योजना रहेको जनाएको छ ।












