२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवाडीझैँ थन्किए घुम्ती शौचालय



अ+ अ-

चन्द्रपुर । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् ।

नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । यहाँ दिनहँु ठूलो सङ्ख्यामा सवारी साधन र मानिसको आवतजावत हुन्छ । उनीहरुलाई शौच गर्न निकै समस्या पर्दै आएको छ । चन्द्रनिगाहपुरको मुख्य चोक क्षेत्र पूर्व–पश्चिम राजमार्ग भएर चल्ने बसका यात्रु तथा मालबाहक ट्रक चालकका लागि खाना खानेस्थलका रूपमा चिनिन्छ ।

जिल्लामा नमुनाको रूपमा यसअघिका नगरप्रमुख रामचन्द्र चौधरीका पालामा रु १० लाखको लागतमा शौचालय ल्याइएको थियो । ती शौचालय अहिले पनि शहीद पार्क र नगरपालिका कार्यालय परिसरमा त्यतिकै थन्किएका छन् । अहिले ती शौचालयका सञ्चालन नहुँदा सबै महत्वपूर्ण सामान काम नलाग्ने भइसकेका छन् ।

नगरपालिकाकै मुटु मानिने वडा नं ४को मुख्य चोकमा सार्वजनिक शौचालय बनाउन जमिन अभाव भएकाले नगरपालिकाले दुईवटा घुम्ती शौचालय खरिद अधिक भीड हुने यहाँको दुई स्थानमा सञ्चालमा ल्याउन खोजेको थियो ।

कोरोना सङ्क्रमणको महामारीका बेला एउटा चाँदी खोला छेउको शहीद पार्कमा लगिएको र अर्कोलाई चोकमा राखिएको थियो । नगरपालिका घोषणा नहुँदै तत्कालीन चन्द्रनिगाहपुर गाविसले चोकको दक्षिण क्षेत्रमा बग्ने पैनीमा शौचालय भवन निर्माण गर्न थालेको थियो । उतिबेला शौचालय बनाउने ठाउँका विषयमा ठूलै विवाद भएपछि सार्वजनिक शौचालय बन्न नसकेको स्थानीय समाजसेवी राजु तिवारीले बताउनुभयो । उहाँका अनुसार त्यसपछि यस क्षेत्रमा शौचालय निर्माणका लागि कसैले पनि पहल गरेनन् ।

नगरपालिकाले चोकको पश्चिमतर्फ जङ्गल छेउमा सार्वजनिक शौचालय बनाएको भए पनि त्योसमेत प्रयोगविहीन छ । अहिले पनि चोकमा मानिस शौच गर्न नपाएर छटपटाउने गरेको देखिन्छ । पैदलयात्री शौचालय खोज्दै होटल जान बाध्य भए पनि उनीहरुलाई होटल सञ्चालकले शौच गर्न दिँदैनन् । घुम्ती शौचालय चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा स्थानीयवासीको जोड छ ।

नगरपालिकाले लाखौँ लगानीमा ल्याएको त्यस्ता घुम्ती शौचालय व्यवस्थापन र सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती हुँदै आए पनि नगरपालिकाको ध्यान जानसकेको छै्न । घुम्ती शौचालय सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले बताउनुभयो । शौचालयका केही पाटपुर्जामा समस्या देखिएको जनाउँदै उहाँले घुम्ती शौचालय सानो र साँघुरोसमेत रहेको जनाउँदै चाँडै नै ‘मोडिफाइर्’ गरी सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । रासस