५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीतिः विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माण



अ+ अ-

काठमाडौं । सरकारले विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणको नीति अवलम्बन गरेको छ । आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त योजनाका लागि जोखिममुक्त संरचना निर्माण, विपद्को पूर्वसूचना प्रणालीको विकास र विपद्सम्बन्धी जनचेतनाको अभिवृद्धिमा जोड दिइने जानकारी दिनुभयो । 

सातै प्रदेशमा आवश्यक सेवा सुविधासहित तत्काल क्रियाशील हुने विपद् उद्धार तथा व्यवस्थापन केन्द्रको व्यवस्था गरिनेसमेत उहाँले जानकारी दिनुभयो । प्राकृतिक प्रकोपको उच्च जोखिम र निरन्तर भइरहेको विपद्को वास्तविकतालाई ध्यानमा राखी विपद्पछिको पुनर्निर्माणसम्बन्धी कार्यको व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पुनःसंरचना गरिनेसमेत उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष स्थापना गरिएको प्राधिकरणले अहिले आफ्नो काम जारी राखेको छ ।

विपद्बाट विस्थापित परिवारलाई उपयुक्त बसोबासको व्यवस्था, जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरण, एकीकृत बस्तीको विकास र फुसले छाएका भवनका छाना जस्तापाताले प्रतिस्थापन गर्ने नीति लिइने उहाँले जानकारी दिनुभयो । यही सालबाट नै नेपालमा भूकम्प प्रभावितका लागि पुनःस्थापन कार्यक्रम झैँ विपद् प्रभावितका लागि अनुदानमा आधारित पुनःस्थापन तथा पुनःनिर्माण कार्यक्रम शुरु भएको छ । वन डढेलोलगायत विपत्तिहरूको सामना गर्न साधनस्रोतको प्रबन्ध गरिने सरकारले जनाएको छ । 

अनाथ, असहाय र सहाराविहीनलाई अभिभावकत्व दिइने

सरकारले अनाथ बालबालिकालगायत असहाय र सहाराविहीन नागरिकलाई अभिभावकत्व प्रदान गर्ने जनाएको छ । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सबै नागरिकलाई मानवोचित जीवनयापन सुनिश्चित गरिने जानकारी दिनुभयो । केही वर्षदेखि सरकारले सडकमानवको व्यवस्थापनमा समेत काम गर्दै आएको छ ।

ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गरिने तथा अपाङ्गता भएका व्यक्तिको हकहित र अधिकार संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका अन्य सेवा सुविधालाई अपाङ्गतामैत्री बनाइनेसमेत सरकारको नीति रहेको छ । 

सुरक्षा मजबुद बनाइने

शान्ति सुरक्षालाई प्रभावकारी बनाई आम नागरिक र सम्पत्तिको सुरक्षा प्रत्याभूत गरिने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय सुरक्षा र प्रतिरक्षा प्रणालीलाई सबल बनाइने तथा सीमा क्षेत्रका थप स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना गरिने छ । सुरक्षाकर्मीका समस्या समाधानमा विशेष ध्यान दिइने जनाइएको छ । हवाई तथा स्थलमार्गबाट आवतजावत गर्ने विदेशी नागरिकको अभिलेख व्यवस्थित गरिनेछ । 

यस्तै सरकारले नेपालको प्रकृति, संस्कृति, पर्यावरण र सामाजिक जीवनलाई प्रवद्र्धन गर्दै आकर्षक पर्यटन गन्तव्य बनाउने नीति लिने जनाइएको छ । सरकारले नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, परम्परा र वेशभूषा एवं प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई ‘सफ्ट पावरका’ रूपमा विश्वसामु प्रस्तुत गर्ने जनाएको छ ।