काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निन्दा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनीहरुले आक्रमणमा संलग्नलाई कानुनी कारवाहीको माग पनि गरेका छन् ।
कांग्रेस सभापति देउवाले शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’
यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ । हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’
भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरिसकेको छ ।












