२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डम्फु बनाएर राम्रो आम्दानी



अ+ अ-

बनेपा ।  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उहाँले ‘स्याङ्तान डम्फु उद्योग’ सञ्चालन गरेर सो पेसालाई विगत १५ वर्षदेखि निरन्तरता दिँदै आउनुभएको हो ।

घरमा डम्फु उद्योग सञ्चालन गरी आम्दानीको स्रोत बनाउँदै आउनुभएका स्याङ्तानले अरुलाई पनि रोजगारी दिँदै आउनुभएको छ । तामाङ समुदायले शुभकार्यमा प्रयोग गर्दै आएको बाजा डम्फुको माग राम्रो भएपछि उद्योग नै स्थापना गरी काम गर्दै आएको उहाँले बताउनुभयो ।

‘तामाङ समुदायको बिहेमा गीत गाउनका लागि डम्फु अनिवार्य हुन्छ तर एउटा आफन्तको बिहेको निम्तो मान्न जाने बेलामा जरकिन बजाएर गीत गाएको देखेपछि डम्फुको अभाव खड्किन नदिनका लागि मैले डम्फु बनाउने उद्योग सञ्चालन गरेको हुँ”, स्याङ्तानले भन्नुभयो, “पुर्खाले गर्दै आएको पेसा नभएर भावनाले डोहोर्‍याएकाले यो पेसा सुरु गरेँ । भाषणले मात्रै कला, भाषा र संस्कृतिको संरक्षण नहुने उहाँको भनाइ थियो । “तामाङ समुदायको विवाह, ब्रतबन्ध र मृत्यु संस्कार सबैमा डम्फु बजाएर खुसी र विरहको गीत गाउने चलन रहेकाले त्यसको अभाव पूर्तिका लागि पनि यो पेसा रोजेको हुँ”, उहाँको भनाइ थियो ।

एउटा डम्फु साइजअनुसार रु दुई हजार पाँच सयदेखि रु पाँच हजारसम्म लिने गरेको उहाँले बताउनभयो । काम गर्ने दौरानमा गाउँमा एक जनालाई मासिक रु २८ हजारका दरले तलब दिएर काम गर्दै आएकामा अहिले विदेशमा समेत जानथालेपछि सबै काम आफैँले गर्दै आएको स्याङ्तानले बताउनुभयो । वार्षिकरुपमा करिब तीन सयको हाराहारीमा डम्फु उत्पादन गर्दै आउनुभएका उहाँले देशका पूर्वी क्षेत्रको काँकडभिट्टा, इलाम, झापा पाँचथर, तेह्रथुमल तथा पश्चिम क्षेत्रको लमजुङ, नवलपरासीलगायत जिल्लामा पनि पठाउने गरिएको जानकारी दिनुभयो  ।

तामाङ समुदायको बसोबास रहेको संयुक्त अरब इमिरेट्स (युएई) मलेशिया, जर्मन, इजरायल, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा पनि डम्फु पठाउने गरिएको छ । निरन्तररुपमा उत्पादन गरेको डम्फुको माग धान्न नसकिएका कारण अरु युवालाई पनि सिकाएर उत्पादन गर्दै आइएको र प्रशस्त माग आउने गरेकाले गाउँका दुई जनालाई सीप सिकाएर डम्फु बनाउने काममा लगाइएको स्याङ्तानले बताउनुभयो ।

“सबै आवश्यक सामान आफँैले उपलब्ध गराएर बनाउन लगाएको छु”, उहाँले भन्नुभयो, “यसरी उत्पादन गरेको डम्फु आफैँले खरिद गरेर बिक्री गर्दै गरेको छु । आफूले मात्रै गर्ने नभएर युवापुस्तालाई सीप हस्तान्तरण गर्नुपर्छ भनेर सिकाएको सीपले युवालाई रोजगार बनाएको छु । ”

“उत्पादन गरिएका  सामान बिक्री भएन भन्ने चिन्ता छैन”, स्याङ्तानले थप्नुभयो, “जति उत्पादन भए पनि मैले नै बजारीकरणको काम गर्ने गरेको छु ।” समुदायसँगै भिजेर काम गरिएका कारण उहाँले डम्फु मात्रै नभएर झाँक्रीले प्रयोग गर्ने ढ्याङ्ग्रो, फुर्बा(थुर्पे)लगायत सामान पनि उत्पादन तथा बिक्री गर्दै आएको जानकारी दिनुभयो ।

डम्फु बनाउनलाई कोइरालोको काठ आवश्यक हुन्छ । बाख्राको छाला प्रयोग हुने र बाँसको किला प्रयोग गरेर बनाउनुपर्ने भएकाले बनाउन भने समय लाग्ने गरेको छ । सिजनअनुसारको छाला उपलब्ध हुन नसक्ने अवस्था रहेका कारण यस पेसालाई थप व्यवस्थित गर्न चुनौती रहेको स्याङ्तानले बताउनुभयो । रासस