२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलबम मेलालाई मलमासले प्रभावित बनाउने



अ+ अ-

भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।

देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक सङ्घसंस्थाले साउने सङ्क्रान्ति सोमबार परेकाले सङ्क्रान्तिको दिनबाहेक अन्य सोमबार खासै दर्शनार्थी नआउने बताएका छन् । मलमास सुरु हुनुअगाडि असार र साउनको एक–एक सोमबार र मलमास सकिएपछि भदौको दुईवटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ । गलेश्वर आश्रम देवघाटका स्वामी अद्वेतानन्द गिरीले आगामी साउन २ गतेबाट मलमास पर्ने भएकाले मलमास सकिएपछि मात्र बोलबमको दर्शन गर्न सकिने जानकारी दिनुभयो । उहाँले यस वर्ष साउने सङ्क्रान्तिपछिका सोमबार धार्मिकरूपले दर्शनार्थी कम आउने बताउनुभयो ।

महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकाले साउने सङ्क्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीहरूका लागि उचित समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरू घुम्न र भगवान्को दर्शन गर्न कुनै फलको आशा नगरी आउन सक्छन् तर मनोकामनापूर्वक गरिने दर्शन भने हुँदैन । नियमित कर्मको रूपमा भगवान्को दर्शन र गङ्गा स्नान गर्न सकिने भए पनि मनोकामनापूर्वक भने बोलबम मेला यसपटक लाग्दैन ।”

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले भोलि साउने सङ्क्रान्तिका दिन सोमबार परेकाले त्यस दिनका लागि आवश्यक तयारी गरिएको बताउनुभयो । उहाँले सङ्क्रान्तिका दिन धेरै भक्तजन आउन सक्ने भएकाले सुरक्षा र अन्य व्यवस्थापनका काम गरिएको जानकारी दिनुभयो । देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले भने घुम्ने हिसाबले पनि सोमबार झन्डै दुई लाखजति दर्शनार्थी देवघाट आउने अनुमान गरिएको बताउनुभयो । साउने सङ्क्रान्तिको दिनमा भने मलमास सुरु नहुने भएकाले झन्डै ५० हजारजति भक्तजन आउने उहाँको अनुमान छ ।

चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ । पण्डित शेखर शास्त्रीले भने पहिलोपटक नभई नियमित गरिरहेका कर्महरू खासै रोक्न जरुरी नभएको बताउनुभयो । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ । रासस