५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको संख्या कटौतीको बहस अनुचित, रहस्यमय र दुर्भाग्यपूर्णः राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली सेनाको सम्बन्धमा केही समययता निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ती जारी गर्दै राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान रहेको तथा यसबारे राप्रपा बहस गर्न तयार रहेको बताउनु भएको छ ।

‘योजनावद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेना विहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृखला रूपमा उठ्नु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

यस्तै, नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिवद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रीत गर्न नहुने राप्रपाको धारणा छ ।

‘नेपालको एकीकरण देखि विश्वमा शान्ति कायम गर्ने कार्यमा समेत अलग पहिचान बनाएको, विकास निर्माण, सिमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरूलाई स्वच्छ राख्ने चूनौतिपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्‌को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको नेपाली सेनाको भूमिका उपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक छ ।’ विज्ञप्तीमा भनिएको छ ।

कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गर्न गराउन एवं मनोबल गिराउने कुनै पनि प्रयासलाई राप्रपाले किमार्थ स्वीकार नगर्ने अध्यक्ष लिङ्देनको अडान छ ।

सेनाको संख्या कटौतीको बेमौसमी बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाई अक्षुण्ण राख्न सबैको साझा प्रतिवद्धताका लागि राप्रपाले आह्वान समेत गरेको छ ।