२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्व स्तनपान सप्ताह मनाइँदै



अ+ अ-

काठमाडौँ । विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ ।

स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । दूधमा रोग निरोधक तत्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । चिकित्सकका अनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ ।

शिशुलाई छ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर छ महिनामुनिका ४४ प्रतिशत शिशुलाई मात्र स्तनपान गराइन्छ । यस्तै, स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।

स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने गर्छ । शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्त्वपूर्ण हुनेगर्छ । चिकित्सकका अनुसार स्तनपानले शिशुलाई कष्ट र तनावबाट समेत मुक्त गराई आराम प्रदान गर्दछ ।

दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्तनपान एक प्रमुख आधार हो । कुपोषण घटाउनका लागि स्तनपानले महत्त्वपूर्ण भूमिका खेल्छ ।

नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवर्द्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण गर्ने र सार्वजनिकस्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापनाका लागि काम गर्दै आएको छ ।