२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भजनी र टीकापुरमा डुबान, दीर्घकालीन समाधानको खोजी



file photo
अ+ अ-

भजनी । बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् ।

“बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई–तीन महिना सडकमै बास हुन्छ”, स्थानीय सुरेन्द्र चौधरी भन्नुहुन्छ– “बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ ।” सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उहाँको भनाइ छ ।

भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने सान्त्वनाले समस्या समाधान नहुने बताउनुहुन्छ । बाढी र डुबानको मुख्य समस्या पहिचान गरी काम थाल्नुपर्ने उहाँको भनाइ छ । “बाढीका कारण खेत बाँझो राख्नुपरेको छ । लगाएको खेती भित्र्याउन पाइन्न । कुन बेला के हुन्छ भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्छ”, चौधरीले भन्नुभयो । बाढी र डुबानको दीर्घकालीन समाधान आवश्यक भएको उहाँको भनाइ छ ।

बर्सेनि बाढी र डुबानका कारण करोडौँको क्षति हुने गरेको छ । विशेषगरी नदीका कारण भजनीका अधिकांश क्षेत्र डुबानमा पर्छन् । “बाढी बस्तीमा पसेपछि समस्या बढी हुन्छ । पानीको निकास नहुँदा डुबानको जोखिम महिनौँसम्म रहन्छ”, स्थानीय रीता बोहरा भन्नुहुन्छ ।

भजनी नगरपालिकाका प्रमुख केवल चौधरी भजनी डुबानमा पर्नुका विविध कारण रहेको बताउनुहुन्छ । भजनीलाई चारैतिरबाट नदीले घेरेको छ । बाढीबाट जोगाउन उचित काम हुन नसक्दा भजनी डुबानमा पर्ने गरेको छ । “भारतको कैलाश बाँधले पनि बढी समस्या भएको छ । भारतले कैलाश बाँध बन्द गरेपछि त्यसको असर भजनीमा बढी पर्ने गरेको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो ।

कैलाली क्षेत्र नं ३ की सांसद गङ्गा चौधरी हुलाकी राजमार्गले पनि डुबानको समस्या निम्त्याएको बताउनुभयो । पानीको निकास नहुँदा तथा जमिनभन्दा राजमार्गको उचाइ १०–१२ फिट बढी भएर समस्या भएको उहाँको भनाइ छ । उहाँले हुलाकी राजमार्गको पूर्वी क्षेत्र जलमग्न हुँदा पश्चिम क्षेत्रमा पानी नहुनु भनेको पानीको निकास नै नभएर डुबान गरेको भन्दै त्यसको विकल्प खोज्न आवश्यक रहेको सांसद चौधरीले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पथरैया नदीमा गरेको तटबन्धको काम अधुरै हुँदा पनि भजनी डुबानमा पर्ने गरेको छ । आयोजनाले केही भागमा तटबन्ध गरेर केही भाग छोड्दा तटबन्ध नभएको स्थानबाट पथरैया नदी बस्तीमा पसेको हो । आयोजनाका प्रमुख केदार श्रेष्ठले बजेट अभावका कारण सबै ठाउँमा तटबन्धको काम गर्न नसकिएको बताउनुभयो । यसपटकको बाढीका कारण भजनी नगरपालिकामा मात्रै एक हजार आठ सय २२ घरपरिवार विस्थापित भएका छन् । दुई घर बाढीले बगाएको तथ्याङ्क छ ।

एक दशकपछि अत्यधिक वर्षा
टीकापुर स् कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ यताकै बढी वर्षा भएको छ । वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार यही साउन २३ गते बिहान चार सय २४ दशमलव दुई मिलीमिटर वर्षा मापन गरिएको छ । यसैगरी चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङले बताउनुभयो ।

“माथिल्लो क्षेत्रमा पनि यस्तै वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढ्ने थियो”, उहाँले भन्नुभयो । जल तथा मौसम विज्ञान विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका अनुसार यही साउन २४ गते एक सय ४३ दशमलव नौ मिलीमिटर वर्षा मापन भएको छ । चुरे क्षेत्रमा वर्षा भएकाले त्यहाँ पहिरोसमेत गएको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताउनुभयो ।

अहिले पनि मनसुन सक्रिय भएकाले देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ । आगामी तीन दिनसम्म पनि देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । आउँदो शनिबारदेखि फेरि मनसुन सक्रिय हुने देखिएको र त्यो समयमा अझै बढी वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको अवस्था हेर्दा शनिबारदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले नागरिकलाई सचेत रहन मौसमविद् सजिना शाक्यको सुझाव छ । दुई दिन परेको वर्षाका कारण बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ । डुबान हुँदा हजारौँ नागरिक प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि भारी वर्षा हुने सम्भावना देखिएकाले तटीय तथा जोखिम क्षेत्रका नागरिकले सतर्क भएर बस्न स्थानीय पालिकाले आग्रह गरेका छन् । कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना गरेका छन् । बाढीबाट टिकापुर र भजनीका सयौँ परिवार विस्थापित भएका छन् ।

कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटियालगायत नदीले दु:ख दिने गरेको छ । रासस