२६ असार २०८३, शुक्रबार
,
Latest
सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीबीच यार्सा सङ्कलन शुरु



symbolic picture
अ+ अ-

बझाङ । कोरोना महामारीबीच  यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुटी नै रहेको छ । यार्सा सङ्कलनको याम शुरु भएसँगै अधिकांश स्थानीयवासी लेकतिर जान थालेका हुन् । 

 उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा यार्सा र जडीबुटी सङ्कलन नै मुख्य आयस्रोतको आधार रहेको छ ।  यस क्षेत्रका बासिन्दा परिवारसहित यार्सा सङ्कलनका लागि घरमा ताला लगाएर वैशाखदेखि असार मसान्तसम्म  लेकतिर जान्छन् । 

गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनमा सङ्कलकको भीड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भएपछि जोखिम न्यूनीकरणका लागि सङ्कलनमा रोक लगाएको थियो । स्थानीय तहले पनि यार्सा सङ्कलनमा रोक लगाएको थियो । यस वर्ष भने कुनै सूचना जारी गरिएको छैन । जिल्लामा दिन प्रतिदिन सङ्क्रमित बढ्दै गए पनि  कुनै निकायको ध्यान गएको छैन । यार्सा सङ्कलन गरिने पाटनमा हिउँ पग्लिन  थालेपछि सङ्कलक वन क्षेत्रमा जाने क्रम बढेको बुङ्गल –२ का आनन्द धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षयता यार्सा खासै पाइँदैन  । गत वर्ष कोरोना महामारीका कारण भएको बन्दाबन्दीले सङ्कलनको काम प्रभावित भयो । यार्सा सङ्कलन गर्न नपाउँदा रोजीरोटी खोसियो । यस वर्ष यार्साको उत्पादन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुइँचो लाग्न थालेको छ ।”

बुङ्गलका धौलाढुङ्गा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे  सुर्मा तथा साइपाल गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुङ्गा, माझा, फरालखेत, कालापानी, राइढुङ्गी, स्याङ्वनलगायत वन क्षेत्रमा सङ्कलक पुगिसकेका छन् । साइपाल –४ का वसन्त बोहराले भन्नुभयो, “रोजगारी केही छैन । आयआर्जन गर्ने माध्यम नै यार्सागुम्बा र जडिबुटी हो ।  गत वर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा सङ्कलन गर्न सकिएन । घर खर्च चलाउन धौधौ भयो । यार्साबाट मात्रै एक परिवारले तीन महिनाका अवधिमा रु तीन लाखदेखि सात लाख जति आम्दानी गर्छ । यार्सा तथा जडिबुटी सङ्कलन नगरे भोकमरीको चपेटामा परिन्छ ।” 

वैशाखदेखि असारसम्म यार्सा सङ्कलनका लागि र भदौदेखि मङ्सिरसम्म यहाँका जंगलमा अन्य जडिबुटी खोज्न मानिस लेकतिर जान्छन् । केही वर्षयता यार्सा तथा अन्य जडीबुटी सङ्कलन गर्न लेकतिर जानेहरु बढ्दै गएका छन् । यस समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करीब १५ हजार पाल हाल्छन् । हरेक वर्ष बझाङमा यार्सा सङ्कलनका लागि मात्रै ४८ हजारभन्दा बढी मानिस लेकतिर जाने गर्छन् । ग्रामीण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला हजारौँ मानिस लेकतिर जाँदा झन् जोखिम हुने देखिन्छ । जङ्गलमा सबै एकै ठाउँ नहुने र सङ्कलन गर्दा अलगअलग जानु पर्ने भएका कारण कोरोनाको जोखिम भने कम हुने सङ्कलक बताउँछन् ।

कोरोनाको सङ्क्रमणबाट बच्न गत वर्ष  पाटन बन्द गरिए पनि सङ्कलकले लुकिछिपी यार्सा सङ्कलन गरेका थिए । गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले सङ्कलनमा रोक लगाइए पनि यस वर्ष सङ्कलन रोक्ने नरोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा अहिले यार्सा सङ्कलन गर्ने सिजन नै हो । विभागबाट कुनै पत्राचार भएको छैन । सरकारले पनि यसबारेमा कुनै निर्णय गरेको छैन । विभागको निर्देशनअनुसार सङ्कलन कार्यमा रोक लगाइने छ ।”