२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भीड



अ+ अ-

काठमाडौँ । दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम)मा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरु तर्दछन् भन्ने धार्मिक विश्वास छ ।

यही विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीकोसमेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो । गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल –जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको बौद्धस्थित ट्राफिक प्रहरी वृत्तले जनाएको छ ।

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले यहाँ आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि आज भाद्र कृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्ट जानकारी दिनुहुन्छ ।

गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिकरुपमा धेरै महत्व भए पनि गोकर्णेश्वरमा गर्न सकिने जति राम्रो व्यवस्थापन हुन नसक्दा दु:ख पाइएकोे बताउँछन् । भक्तपुर चागुनारायणबाट आउनुभएकी दर्शनार्थी जया खत्री गाडीको असुविधाले मेलामा दु:ख पाइएको बताउनुहुन्छ । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर मात्र थाहा पाएँ”–उहाँ भन्नुहुन्छ ।

मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाइ बाटो साँघुरो भएकोले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि जयाको गुनासो छ । नेपाल ट्रष्टको मातहतमा रहेको वन क्षेत्रभित्रको सडक खोलिदिएको भए पनि यो समस्या हुने थिएन तर यसतर्फ स्थानीय र सङ्घीय दुवै सरकारले बेवास्ता गरेकामा उहाँ आपत्ति जनाउनुहुन्छ ।

मन्दिरको दक्षिणभागबाट बनेको सडक दक्षिणढोका निस्कने भए पनि त्यो पर्खालभित्र रहेको र नेपाली सेनाको सुरक्षा घेराभित्र यो क्षेत्र परेको छ । पर्खाल थोरै माथि सारेर सडक बाहिर पार्न गोकर्णेश्वर नगरपालिकाले आग्रह गर्दै आए पनि नेपाल ट्रष्टको कार्यालयले टेरेको छैन । शास्त्रीय रुपमा महत्व रहेको पवित्र तीर्थस्थलको व्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाइएको धेरै भक्तजन बताउँछन् । यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लाग्ने गरेकोे छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी पनि यहाँ आएर श्राद्ध र पूजा आजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु काल्साङ लामाको भनाइ छ ।

बौद्धमार्गीले आजका दिन गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पितृको स्वरुपको दर्शन गर्न पाइने विश्वाससमेत रहेको उहाँ जानकारी दिनुहुन्छ । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ ।

आजैका दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कार्यका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरुप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि मनाइँदैछ । गोकर्णेश्वर मन्दिर क्षेत्रमा आज बेलुकीसम्म नै पितृका नाममा श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भीड लाग्ने मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत उल्लेख गर्नुुहुन्छ।

मेलाका लागि बुधबारदेखि नै २०० स्वयंसेवक खटाइएको पनि उहाँ बताउनुहुन्छ । आज बेलुकीसम्म करिब पाँच लाख भक्तजनले मन्दिर क्षेत्रमा आएर पितृप्रति सम्मानभाव प्रकट गर्न सक्ने गरी व्यवस्थापन गराइएको पनि समितिले जनाएको छ । बिहान १० बजेसम्म करिब सवा दुई लाख भक्तजनले गोकर्णेश्वरबाट उत्तरगयासम्म बागमती किनारमा बसेर पितृप्रति सम्मानभाव प्रकट गरेको पनि अध्यक्ष महत उल्लेख गर्नुहुन्छ । रासस




भर्खरै