२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदमचाल फूललाई एक चुम्बन



अ+ अ-

फुङ्लिङ । प्राकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुग्नुभयो । फुङ्लिङबाट आवश्यक सामग्री आफैंले बोकेर मिक्वाखोला गाउँपालिकाको प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र लोदेन पुग्नुभयो ।

कठिन यात्राले गर्दा अनिलको तन भारी भए पनि प्राकृतिक सुन्दरताले मन चङ्गा जस्तै उच्च पहाडी क्षेत्रको हावासँगै डुलिरहेको थियो । पदमचाल (केन्जो) फूल देख्नेबित्तिकै त्यसमा उहाँको आँखा पर्‍यो । अनौठो र सुगन्धित त्यस फूल नजिकै गएर एक चुम्मन गर्नुभयो ।

ढकमक्क पदमचाल फूलले सझिएको फाँटहरु देख्दा जो कोही पनि मोहित हुने गर्दछन् । केही छिनमै कुहिरो छोपिंदिदा पृथ्वीको कुनै एक कुनामा हराएको जस्तो अनुभूति हुने गर्दछ । केही क्षणमा ढपक्क कुहिरोले ढाक्ने र विस्तारै उड्दै जाँदा दुलहीले लजाउँदै घुम्टो उघारे जस्तै लाग्दछ । रोमाञ्चक मौसम र ढकमक्क फूलले स्वर्गीय आनन्द प्राप्त हुन्छ । फूलको सौंन्दयताका लागि वा फूलप्रतिको प्रेम भावले सबैलाई आनन्द दिन्छ ।

यतिखेर जिल्लाको उच्च पहाडी क्षेत्रहरु गरगहानाले दुलही सजिए जस्तै यस फूलका गुच्छाले ढकमक्क सजिएको पाइन्छ । पत्रैपत्र परेको पिरामिड जस्तो यो फूल देखेर मोहित नहुने सायदै छन् । कतिपय प्रत्यक्ष देखेर मख्ख पर्छन् भने कतिपय फोटो भिडियो हेरेर लोभिन्छन् । केन्जो प्रत्यक्ष देख्नलाई उच्च पहाडी क्षेत्र पुग्नुपर्छ । चट्टान भएको भिरालो पहाडमा फूलेको केन्जोनजिक पुग्न केही कठिन त हुन्छ नै । पछिल्लो समयमा विभिन्न क्षेत्रहरुमा तस्बिरको प्रयोग बढ्दै गएको छ । होटल रेस्टुरेन्ट विभिन्न क्षेत्रहरुमा पनि यस फूलको आकर्षक तस्बिर राखेको देख्न सकिन्छ ।

उच्च पहाडी क्षेत्रमा कतिपयले पदमचाल फूललाई फूलहरुको रानी पनि भन्ने गर्दछन् । मिक्वाखोला गाउँपालिका लुम्बासुम्बाको उच्च पहाडी क्षेत्रमा केञ्जो पूmल प्रशस्त देख्न पाइन्छ । मिक्वाखोला गाउँपालिका—५ लोदेन, तोक्पेगोला र फक्ताङलुङ गाउँपालिका—७ सिङजेमा, देउमा, माउमा क्षेत्रमा कमैरुपमा पाइने कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक जितेन चेम्जोङले बताउनुभयो । यहाँका उच्च डाँडाहरुमा पहराहरुमा सेताम्य फुल्ने यो फूलको बनावट धरहरा जस्तै ठाडो हुन्छ । केन्जो एक दुर्लभ प्रजातिको फूल हो । लेकाली चौर र अग्ला डाँडामा निकै आकर्षक देखिने गरी फूलेको भेटिन्छ ।

यस फूलको व्याख्या पहिलोपल्ट ब्रिटिस वनस्पतिविद् सर जोसेफ टाल्टन हुकरले ‘हिमालयन जर्नलस नोट्स आफ न्याचुरलिस्ट’मा गरेका थिए । उनले पुस्तकमा लेखेका छन्, ‘पदमचाललाई मैले पहिलो पल्ट एक माइल टाढाबाट देखें । लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो । अप्ठ्यारा ठाउँमा थिए । तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिङ्ग उभिएको थियो ।’

संस्कृत भाषामा यसलाई रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी भनेर पनि चिनिन्छ । पोलिगोनेसी वनस्पति परिवारभित्र पर्ने यो फूल नेपालको तीन हजार मिटरदेखि चार हजार मिटरसम्मको उच्च पहाडी भेगमा आफैं उम्रिएका हुन्छन् । व्यावसायिक खेती भने हालसम्म भएको देखिंदैन । यसको बोटलाई अचारका रुपमा पनि प्रयोग गरन मिक्वाखोला गाउँपालिका—५ तोक्पोगालाका तेन्जिङ शेर्पाले बताउनुहुन्छ ।

उच्च पहाडी भेगमा फिरफिरे, ठींग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउछाउमा, थुम्कामा, खुला ठाउँमा र ढुङ्गाको अन्तरमा हुर्किन्छ । एकदेखि दुई मिटरसम्म अग्लो हुने पदमचाल जरा र जमिनमुनि रहने काण्ड कसिएको गठिलो हुन्छ भने बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित वासना आउँछ । स्वाद भने पिरो, टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ । जमिनबाटै पलाएर आएका लामा डाँठ भएका यसका पातहरू ३० सेमि चौडा हुन्छन् । विरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् । विरुवा काण्डका टुक्राहरूबाट अथवा बीउबाट उमारिन्छ । विरुवाहरूलाई वसन्त ऋतुमा सार्नुपर्दछ । यसका बिरुवालाई १।५ मी। दूरीमा रहेको खाल्टोमा मल जल गरेर सार्न सकिन्छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत आदर्श क्षेत्रीका अनुसार पदमचाल फूल विशेषत: नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङलगायतका जिल्लामा पाइन्छ । यसलाई व्यावसायिक रुपमा लगाएर आर्थिक लाभ लिन सकिने उहाँको भनाइ छ ।

यस फूलको औषधीय महत्व पनि रहेको बताइन्छ । आयुर्वेदमा यसलाई एक महत्वपूर्ण जडीबुटीको रुपमा लिने गरिन्छ । कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सिकन्छ । त्यस्तै, शरीरमा जलन भए यसको रस जुसको रुपमा पिउँदा शरीरलाई शीतलता प्रदान गर्छ । डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ । शरीरको कुनै भाग सुन्निएको छ वा मर्केको, भाँचिएको अवस्थामा यसको जरा कुटेर गाईको गहुँतसँग मिसाई लगाउनाले फाइदा गर्दछ । साथै यस फूलको पात, डाँठ, फूललाई अचार तथा तरकारीमा पनि प्रयोग गरिन्छ । रासस