२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै



अ+ अ-

राँझा (बाँके):  केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।

मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भन्नुभयो, “कुनै समय गाउँ–गाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटना निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ । ” उहाँका अनुसार मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । अहिले नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले सहरकै शिक्षित महिला पनि जोखिममा छन् मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्ररुपमा बढिरहेको छ ।

विशेषगरी किशोरावस्थाका युवती टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् । पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल टिकटकबाट सम्बन्ध विस्तार गरी महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् । टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालले बताउनुभयो । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो ।

सामाजिक सञ्जाल टिकटकको माध्यमबाट चिनजान भई भारत जान लागेका छ जनालाई माइती नेपालका कर्मचारीले जमुनाहनाकामा रोकेर परिवारलाई बुझाए । पछिल्लो छ महिनामा टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छाडेका १२ युवती बेचबिखनको जोखिममा परेको जनाउँदै परिवारले खोजतलासका लागि माइती नेपालको नेपालगन्जस्थित कार्यालयमा निवेदन दिएका छन् ।

“सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखा पर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ”, बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भन्नुभयो, “सामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्ररूपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिलामात्रै होइन, शिक्षित र सहरिया महिला पनि जोखिममा छन् ।” राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उहाँको भनाइ छ । दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् ।

ग्रामीण क्षेत्रका अधिकांश महिलाले फेसबुकभन्दा इमो बढी चलाउने गरेका छन् । “फेसबुक र म्यासेन्जरभन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्”, उहाँले भन्नुभयो, “दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।” मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोलगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ ।

छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रूपमा प्रयोग भएको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँ शैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ । मानव दलालहरूले अपनाउने फरक–फरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले बताउनुभयो । “वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटना छन्”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखापर्न थालेको छन् ।” उहाँका अनुसार आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरूलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ । मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् ।

बढ्दो बिलासिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज, प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

मानव बेचविखनविरुद्धको जिल्लास्तरीय समितिका संयोजक एवं बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले सङ्घसंस्था मुख्य नाकामा केन्द्रित हुँदा ग्रामीण नाकाबाट मानव बेचबिखनको जोखिम बढेको बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थालाई स्थानीय तह र ग्रामीण नाकासम्म गतिविधि र निगरानी बढाउन आग्रह गर्दै आएको उल्लेख गर्नुभयो ।रासस




भर्खरै