२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा आँखाको रोग ‘सापू’का बिरामी बढे



अ+ अ-

गण्डकी । पोखरा आसपासमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामी बढेका छन् । महिनादिनमा २६ जनामा ‘सापू’को सङ्क्रमण भेटिएको पोखरास्थित हिमाल आँखा अस्पतालले जनाएको छ ।

“यस वर्षको पहिलो बिरामी पहिचान गत भदौ २४ गते भएको हो, गएको मङ्गलबारसम्ममा २६ जनामा सापू देखिएको छ”, अस्पतालका मेडिकल निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा इलिया श्रेष्ठले भन्नुभयो, “सङ्क्रमण विस्तारै बढ्दो क्रममा छ ।”

उहाँका अनुसार सो अस्पतालमा गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, स्याङ्जालगायत ठाउँका बिरामी उपचाररत छन् । सात महिनाको शिशुमासमेत उक्त रोेगको सङ्क्रमण देखिएको डा श्रेष्ठले बताउनुभयो ।

“सङ्क्रमणले आँखा जटिल अवस्थामा पुगेका बिरामीको पनि हामीले उपचार गरिरहेका छौँ, कोही निको भएर घर फर्किसक्नुभएको छ”, उहाँले भन्नुभयो, “बेलैमा उपचार भएमा यो रोग निको हुन्छ, नत्र दृष्टि नै गुम्ने खतरा रहन्छ ।”

वर्षायाम सकिएपछि नेपालको मध्यपहाडी क्षेत्रमा ‘सापू’को सङ्क्रमण फैलने गरेको डा श्रेष्ठले उल्लेख गर्नुभयो । विशेष गरि असोजदेखि मङ्सिरसम्म ‘सापू’ले प्रकोपको रुप लिने गरेको उहाँको भनाइ छ । पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा ‘सापू’ रोग भेटिएको थियो ।

नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाउनुभएको थियो । बर्सेनि पोखरा र आसपासका क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको हिमालय आँखा अस्पतालले जनाएको छ । बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको सम्पर्कबाट ‘सापू’ रोग लाग्ने गरेको डा श्रेष्ठले बताउनुभयो ।

“सापूको रोगको एकिन कारण अझै पत्ता लागेको छैन, सेतो पुतलीको रौँ आँखामा पुग्दा यसको सङ्क्रमण हुने गरेको छ”, उहाँले भन्नुभयो, “लक्षण देखिएको ४८ घण्टाभित्र उपचार नपाए दृष्टि नै गुम्न सक्छ, यो रोगबारे समुदायमा सचेतनाको जरुरी छ ।”

जटिल अवस्थाका बिरामीलाई आँखाभित्र औषधिको सुइँ लगाएर शल्यक्रियामार्फत उपचार गर्ने गरिएको चिकित्सक बताउँछन् । उक्त रोगबाट जोगिन स्वास्थ्य सजगता अपनाउनुपर्ने नेत्र सहायक गणेश महतोले बताउनुभयो । ‘सापू’को सङ्क्रण भएमा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको गेडी दुख्ने, दृष्टि क्षमता कमजोर हुने जस्ता लक्षण देखिने गरेको उहाँको भनाइ छ ।

“रातिमा धेरै उज्यालो बत्ती बालेर नसुत्ने, हात या कुनै माध्यमबाट सेतो पुतलीको सम्पर्कका नजाने, झुलभित्र सुत्ने गरेमा सापूको सङ्क्रमणबाट जोगिन सकिन्छ”, उहाँले भन्नुभयो, “सापूको शंकास्पद लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिएर उपचार सुरु गर्नुपर्छ ।” रासस