२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानाडामा नेपथ्यको दोश्रो कन्सर्टमा रमाए भ्यानकुभरका दर्शक



अ+ अ-

भ्यानकुभर । सहरको मुटुमै रहेको ‘भोग थिएटर’ मा नेपथ्य कन्सर्ट सकिएपछि दर्शकहरु उत्साहका साथ बाहिरिँदै थिए । त्यतिबेलै क्यानाडा बस्दैआएका बिरु महर्जनले भिडियो रेकर्डिङ सुरुगरे ।

त्यो लाइभ रेकर्डमा बोल्ने सबै दर्शकहरु खुशीको उत्तेजना प्रकट गरिरहेका देखिन्छन् भने कतिपयले ‘भ्यानकुभरमा आज सम्मकै सबैभन्दा भब्य नेपाली कार्यक्रम’ भनेर प्रतिक्रिया ब्यक्त गरिरहेको पाइन्छ । सबैभन्दा रोचक त झण्डै शतायु पार गरेको हलबाट बाहिरिँदै गरेका पाका उमेरको दर्शकहरु पनि भिडियोमा उत्तिकै खुशी देखिन्छन् । बिरुले यो भिडियो उनको फेसबुकमा राखेका छन् ।

यसरी क्यानाडाको श्रृंखलाबद्ध सांगीतिक यात्रामा रहेको लोकरक ब्याण्ड नेपथ्यको दोश्रो कन्सर्ट भ्यानकुभरमा उत्तिकै भब्य एवं सभ्य रुपमा सम्पन्नभएको छ ।

कन्सर्टको सुरुवात अघिल्लोपटकजस्तै ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट भएको थियो भने त्यसलाई वैदेशिक रोजगारीमा गएकाहरुको भावमा उभ्याइएको ‘मैमरि जाउँला’ गीतले निरन्तरता दिएको थियो ।

चर्को स्वागतका बीच मञ्चमा नेपथ्य टोली आएपछि भने ‘कोशीको पानी यो जिन्दगानी’ ब्याण्डको पहिलो प्रस्तुती बन्नपुग्यो । गीतमा रहेको ‘आमाको कोखमा बासमात्र लिएँ, कुन देशको मरन हौ हजुर’ गाइरहँदा दर्शकदीर्घामा कतिपय अनुहार भावुक देखिन्थ्यो ।

‘नेपथ्यको कन्सर्ट जीवनमा एकपटक हेर्नैपर्छ भन्ने थियो,’ २७ वर्षदेखि नाम्चेबजारबाट क्यानाडा आइ बसोबास गर्दै आएका आङ निमा शेर्पा आफ्नै शैलीमा भनिरहेका थिए, ‘आज हेर्न पाउँदा बबाल रमाइलो लाग्यो ।’

कन्सर्टमा त्यसपछि ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘लामपाते सुरती’ सुनाइएको थियो ।

त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा अर्थशास्त्र पढाइरहेका खेम दाहाल नेपालमा द्वन्द्व सुरुभएपछि असुरक्षित महशुस गरेर २२ वर्ष पहिले सपरिवार भ्यानकुभर आइपुगेका थिए ।

‘झण्डै डेढ दसकयता यो सहरमा नेपाली समुदायको चहलपहल सुरुभएता पनि यति भब्य कार्यक्रम यसअघि आयोजना भएको थिएन,’ दाहालले भने, ‘यो कन्सर्टले टिकटदर र दर्शक उपस्थितीमा मात्र होइन, भ्यानकुभरमा आयोजना हुने नेपाली कार्यक्रमको स्तरमा पनि गुणात्मक वृद्धि गरेको छ ।’

आफुलाई ‘रातो र चन्द्रसूर्जे’ अनि ‘गाउँगाउँबाट उठ’ गीतले सबैभन्दा मिठो महशुस गराएको बताउने दाहालले सम्पूर्ण कार्यक्रम नै मनोरञ्जक रहेको र आफु वरपरका सबै दर्शक सुरुदेखि अन्तिमसम्म रमाएको पनि उल्लेख गरे । ‘पहिले पहिले बाल बच्चा सबैलाई देश छुटाएर यहाँ ल्याएकोमा अलि न्यास्रो अनुभव हुन्थ्यो, तर अहिले मेरा साथीभाई प्राय सबैका छोराछोरी विदेश तिरै छन् । यो देख्दा आफुले गल्ति गरेको बोध हुन छोडेको छ ।’ उनले आफ्नो अनुभव साट्न भ्याए ।

कार्यक्रमस्थलमा नेपालबाट पढ्नका लागि भर्खरै क्यानाडा आइपुगेका सिर्जन भण्डारी पनि थिए । यहाँ आएर नेपालीहरुसँग संगत गर्न पाए अलिक सहज हुन्थ्यो भनेर सोचिरहेको बेला नेपथ्य कन्सर्टले साथी मात्र नभइ दाजुभाइ दिदीबहिनीसमेत बनाउने मौका जुराइदिएको प्रतिक्रिया सिर्जनले दिए ।

कन्सर्ट हेर्नका निम्ति क्यानाडामा पर परसम्म बसोबास गरिरहेका दर्शकहरु आएका थिए । दर्शक भीडमै कतिपय छिमेकी मुलुक अमेरिकादेखि आउनेहरु पनि देखिन्थे । तीनैमध्ये थिए, सियाटलबाट आउने सुमन चौधरी र पोर्टल्याण्डबाट आउने प्रदिप बानियाँ । ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दैआएका प्रदिपले उतै हुर्किएकी आफ्नी ठुली छोरी पनि नेपथ्यको प्रशंसक रहेको जानकारी दिए । दुबैले नेपथ्य हेर्न आफुले तय गरेको लामो यात्रा सार्थक रहेको अनुभव सुनाए ।

कन्सर्टको दशौं प्रस्तुतीका रुपमा ब्याण्डले ‘यो जिन्दगानी’ गीत सुनाएको थियो । दर्शक तालीकै बीच गीत प्रस्तुतगर्ने क्रममा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले पछिल्लो एक वर्षदेखि ब्याण्डले थालेको ‘मानवताका लागि संगीत’ अभियानबारे पनि बोले ।

‘सडकमा अलपत्र परेर बाँचिरहेका मानिसहरु देख्दा दिक्क लाग्थ्यो,’ अमृतले थपे, ‘केहि वर्षयता मानवसेवा आश्रमले त्यस्ता मानिसहरुको देशैभरि उद्धार गरिरहेको थाहा पाएपछि हामी पनि यो पवित्र उद्देश्यमा जोडिन पुगेका छौं ।’

अमृतले कन्सर्टकै क्रममा नेपाल भित्रको जटिल परिस्थितीबारे बोल्दै सबैलाई मिलेर बस्न आव्हान पनि गरेका थिए ।

पोखरामा हुर्किएकी अनि सानैदेखि नेपथ्यको प्रशंसक भएता पनि आशिमा पुनले नेपथ्यको कन्सर्ट भने हेर्नपाएकी थिइनन् । क्यानडा आएको डेढ महिना नबित्दै अनि त्यसमा पनि दशैंको मुखमा यसरी आफुले चाहेको नेपाली कन्सर्ट हेर्न पाउँदा असाध्यै खुशी लागेको उनले सुनाइन् ।

‘अझ मेरो वरपरका कतिपय दर्शकले त नेपालमा भिडियो कल गरेरै हल भित्रको दृश्य देखाइरहेका थिए,’ आशिमाले भनिन्, ‘क्यानाडामा राती परिरहँदा त्यतिबेलै विहान सबेरै उठ्ने नेपालीहरु पनि नेपथ्य हेरेरै रमाइरहेको क्षण देख्दा अचम्म लाग्यो ।’

कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरुसँगै ‘अब कुन गीत सुन्नेरु’ भनेर प्रश्न गरेका थिए । त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए ।
यसरी ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि कार्यक्रम ठिक ९ बजे अन्त्य भएको थियो ।

कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

भ्यानकुभरको दोश्रो कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्ड ८ तारिख आइतबारका दिन टोरन्टोमा प्रस्तुत हुनेभएको छ । शोका निम्ति टोली टोरन्टो पुगिसकेको छ । त्यहाँस्थित क्यानाडाकै बिख्यात सभागृह ‘म्यासी हल’मा कन्सर्ट आयोजना हुदैछ ।

यी कन्सर्टहरुमा क्यानाडामा रहेका विद्यार्थीहरुको निम्ति विशेष छुटको ब्यवस्था गरिएको छ । अनलाइनबाटै टिकट लिन चाहनेका लागि नेपथ्यले आफ्नो वेबसाइट www.nepathya.com.np  बाटै पनि उपलब्ध गराउने बन्दोबस्त मिलाएको छ ।