२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले धान खेतमै उम्रियो



अ+ अ-

भरतपुर । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् ।

धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । “अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन”, उहाँले भन्नुभयो, “अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ ।” उहाँका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ ।

केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उहाँले बताउनुभयो । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् ।

निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका सुनिल दवाडीले बताउनुभयो । “मैले दुई बिघामा धान लगाएको हो । त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ”, खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उहाँले भन्नुभयो, “धान रोप्न गरेको लगानी पनि खेर गयो ।” खेत रोप्न रु २५ हजार लागेको उहाँले बताउनुभयो । लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ ।

शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोप्नुभएको थियो । केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उहाँले बताउनुभयो । “मेरो खेत नै यति मात्रै । उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो”, उहाँले भन्नुभयो, “मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु ।” काट्न १० जना खेताला लागेको उहाँले बताउनुभयो ।

समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन् । “छ–सातवटा बालबालिका छन् । अरु कमाई छैन । यही खेती गरेर खाने हो”, शरणपुरकी शिला लामिछानेले भन्नुभयो, “वर्षभरिलाई खाने भनेर लगाएको धान डुबेर यस्तो गति भयो ।” चितवनमा २७ हजार हेक्टर हाराहारीमा धानखेती गरिँदै आइएको छ ।रासस




भर्खरै