२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताउनुभएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो । तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र सङ्कटमुक्त भएको छ । विदेशी मुद्राको सञ्चिति, राजस्व सङ्कलन र परिचालन, पर्यटक आगमन, विप्रेषणलगायत क्षेत्रका सूचक हेर्दा हामी प्रगति तिरै छौँ ।”

अर्थतन्त्र अझै पनि दबाबमुक्त भइनसकेको उल्लेख गर्दै उहाँले अर्थतन्त्रको दबाब हटाउने विषय सबैभन्दा ठूलो कार्यभार हुन आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ । तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत् बैठकको आयोजना गर्छौँ ।”

नेपालको बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको जनाउँदै उहाँले परम्परागत ढङ्गले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “नीति कार्यक्रम पेस गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ ।”

लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल, अन्तरक्रिया र संशोधन हुने उल्लेख गर्दै उहाँले नीति कार्यक्रम तथा बजेट हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्ति एकठाउँ उभिएर त्यसलाई परास्त गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति नै शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ, त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।” रासस