२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानका दु:ख-‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’



अ+ अ-

वालिङ (स्याङ्जा), : स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गर्नुभएको थियो । यसपाली बजार अभावका कारण कागती बोटमै छ । उहाँले हालसम्म बिक्री गर्न सक्नुभएको छैन । कागतीले बजार नपाउँदा पौडेल चिन्तित हुनुहुन्छ र्। उत्पादन भएको कागतीले बजार नपाउँदा चिन्तित हुनुभएको हो ।

“गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष सिजन (याम) मै बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।”

बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउनुहुन्छ । “कसैले बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ”, उहाँले भन्नुभयो । स्थानीय बजारमा दैनिक १०÷१५ किलोमात्रै कागती खपत हुने गरेको उहाँले बताउनुभयो । “दिनभर बजार डुलाउँदा मुश्किलले १०÷१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ”, पौडेल भन्नुहुन्छ ।

पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आउनुभएको छ । उहाँले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एकसय ५० कागतीका बोट लगाउनुभएको थियो । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाउनुभएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् ।

आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ । “सुरुका दिनमा पाँच रोपनी क्षेत्रफलमा एक सय पचास कागतीका बिरुवा लगाएँ”, उहाँले भन्नुभयो, “कागतीको उत्पादन र बजार राम्रो भएपछि पुनः पाँच रोपनी जग्गा किनेर फेरि एकसय ५० बिरुवा थपेँ ।” सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने उहाँले बताउनुभयो ।

विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो रु एक सय ३० देखि रु दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष रु १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरुपमा कागती खेती गरेको उहाँ बताउनुहुन्छ । कागती भण्डारण गर्न शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ । “भण्डारण गर्न पाए पछि उचित मूल्य पाइन्थ्यो कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।रासस