२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई किताब बोक्न नपर्दा…



अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गर्नुभएको छ ।

विद्यालयले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाए पछि उहाँलाई हिजोआज सजिलो भएको छ । पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो भार कम भएको उहाँको भनाइ थियो ।

छात्र बोहराले भन्नुभयो, “किताब र खाजा विद्यालयमा नै उपलब्ध हुन्छ, अहिले कपी कलम मात्र लिएर आउँछु सजिलो भएको छ ।” चालु शैक्षिक सत्रदेखि कालिका नमूना माध्यमिक विद्यालय गैँडाकोट नगरपालिका–८ ले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको हो । विद्यालयको हरेक कक्षामा ‘बुक कर्नर’ बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमका पुस्तक उपलब्ध गराउने गरिएको छ । पहिले झोला गहुँगो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउने गरेका छन् ।

कक्षा २ मा अध्ययनत छात्रा वर्षा भुसाल पनि विद्यालयको सुविधाले खुसी छिन् । शिक्षकले किताब नल्याउन र स्कुलकै किताब पढ्न भने पनि उहाँले कहिलेकाहीँ किताब लिएर आउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमै किताब छ तर कहिलेकाहीँ एक–दुई वटा किताब ल्याउँछौँ । तर हामीले कक्षामा नै किताब पाउँछौँ ।

कक्षा ३ मा अध्ययनत आदित्य गौतमले आफ्नै कक्षामा भएको ‘बुक कर्नर’बाट जुन विषय अध्ययन गर्ने हो सोही किताब निकालेर पढ्ने गरेको जानकारी दिनुभयो । “किताब घरमा छुट्यो भन्न पनि पर्दैन, स्कुलमा पाइन्छ अझै आफ्नै कक्षामा हुन्छ, आफैँ किताब निकाल्छु अनि साथीसँग मिलेर पढ्छौँ । ”

बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेलले जानकारी दिनुभयो । “बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको हो”, उहाँले भन्नुभयो, “अलिकति आर्थिक भार थप भएको छ, अर्को शैक्षिक सत्रदेखि अझ सहज हुने छ ।”

अहिले विद्यार्थीको घरमा ‘एक सेट’ पुस्तक छ भने उनीहरूले विद्यालयमा पनि सोही किताब पढ्न पाउँछन् । विद्यालयमा यस शैक्षिक सत्रमा दुई विद्यार्थीका लागि एक सेट पुस्तक उपलब्ध छ भने २०८१ को शैक्षिक सत्रदेखि प्रत्येक विद्यार्थीलाई एक सेट पुस्तक उपलब्ध गराउने तयारी गरिएको प्रधानाध्यापक कँडेलले बताउनुभयो ।

“हामीले पहिले सोही कक्षामा पढेका विद्यार्थीले विद्यालयमा पुस्तक फिर्ता गराउनका लागि अभिभावकसँग सल्लाह पनि गरेका छौँ, अब अर्को शैक्षिक सत्रदेखि सहज हुन्छ”, उहाँले भन्नुभयो, “हामीले तीन कक्षासम्म मात्र नभई अब पाँच कक्षासम्म पनि त्यही प्रक्रियामा जाने योजना बनाउँदै छौँ ।”

विद्यार्थीलाई सहज बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेका छन् । गहुँगो झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट विद्यार्थीले राहत पाएको अभिभावकको भनाइ छ । रासस