२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पका कारण करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति



file photo
अ+ अ-

काठमाडौँ: भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपन्छीको क्षति भएको बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा रु एक करोड सात लाख बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दुवै जिल्लामा छ सय छ घाइते पशुको उपचारसमेत गरिएको छ छ भने जाजरकोटमा मात्रै पाँच सय ९२ पशुको उपचार गरिएको छ ।

उहाँका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ । कृषि बाली तथा पशुपन्छी बीमा भएका कृषकको क्षतिपूर्ति दाबी बीमा कम्पनीबाट हुनेछ । विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उहाँको भनाइ छ । प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिनुभयो ।

मन्त्रालयका पशुपन्छी अधिकृत पूर्ण बुढाका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दास नेतृत्वको टोली जाजरकोट, डा राकेश प्रजापतिको नेतृत्वको टोली रुकुम पश्चिम पठाइएको छ ।

उक्त टोली प्रभावित क्षेत्रका पशुपन्छीको उपचारमा खटेको थियो । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।

पशु सेवा विभागले प्रदेश मातहतका पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिइएको थियो । प्रभावित क्षेत्रमा पठाइएको टोलीले त्यहाँको सबै वस्तुस्थितिबारे बुझेर आवश्यक उपचार सामग्री माग गरेको जनाइएको छ ।