२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल



अ+ अ-

दमौली (तनहुँ) : चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो ।

बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको बताउनुभयो । प्रधानले भन्नुभयो, “यो पर्यटकको घुम्ने समय हो । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको आगमन बढ्दैछ ।”

बन्दीपुरमा दसैँ सुरु भएदेखि नै पर्यटकको चहलपहल बढेको र उक्त सङ्ख्या यतिबेला अझ बढेको उहाँको भनाइ छ । बन्दीपुरमा विशेष गरी चिनियाँ पर्यटकको सङ्ख्या बढी भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानका अनुसार बन्दीपुरमा अहिले दैनिक दुई हजार पर्यटकको आगमन भइरहेको छ । “विगतका वर्षमा चिसो मौसममा पनि यही हाराहारीमा पर्यटक आउँथे”, उहाँले भन्नुभयो, “पर्यटकमा घुम्ने संस्कृतिको विकास भइरहेको छ ।”

पर्यटन विकासको समितिको तथ्याङ्कअनुसार बन्दीपुरमा २६ देशका पर्यटक आएकोमा सबैभन्दा बढी चिनियाँ छन् । समितिका अनुसार जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाबाट पर्यटक आएका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ वटा पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे नेपाली, अङ्ग्रेजी, चिनियाँ, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा सामग्री तयार पारिएको छ ।

विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रितिरिवाज र परम्परागत शैलीको घर देखेर मख्ख पर्ने गरेको व्यवसायी वसन्त पौडेलको भनाइ छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा सूर्योदयसँगै देखिने कुहिरो हेर्ने पर्यटकको सङ्ख्या पनि बढेको छ । मानुङकोटमा दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन् । कोभिड सङ्क्रमणका बेला मानुङकोटमा एकै दिन १० हजारभन्दा बढीसम्म पर्यटक पुगेका थिए ।

व्यास नगरपालिका-३ निवासी भिमकुमारी थापाले यहाँबाट देखिने दृश्यले सबैको मन लोभ्याउने बताउनुभयो । गर्मी मौसममा कुहिरो नलाग्ने भएकाले चिसो मौसममा मानुङकोटमा पर्यटकको भीड लाग्ने गरेको व्यवसायी चुडामणि दाहालले बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मानुङकोट आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास भइरहेको बताउनुभयो । जाडो महिनामा मानुङकोटमा पर्यटककको राम्रो चहलपहल हुने व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिराले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।”

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् । रासस

 




भर्खरै