१४ असार २०८३, आईतवार
,
Latest
जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउँदै गयो खलो पुज्ने र वनभात खाने चलन



फाईल फोटो
अ+ अ-

गलेश्वर । मङ्सिर मुख्यबाली धान ढुकुटीमा भरिने र भराउने महिना हो । दसैँ र तिहारजस्ता ठूला चाड सकिएपछि किसान बाली भित्र्याउन व्यस्त हुने महिना पनि हो यो ।

केही वर्षअघिसम्म बाली भित्र्याउने चटारोमा हतारो गरिरहेका किसान जब धान भित्र्याउँथे त्यसपछि भूमे र खलो पूजा गरिसकेपछि वनभात (वनभोज) गएर रमाइलो गर्ने गर्दथे । तर, पछिल्लो समय यस्तो चलन लोप भइसकेको छ ।

हिन्दू परम्पराअनुसार हरिबोधनी एकादशीको भोलिपल्ट अग्नी स्थापना गरी हवन गरेपछि पितृलाई नयाँ चामल चढाउने गरिन्थ्यो । यस पर्वलाई कृषक नबान्न (न्वाँगी) अर्थात् न्वाँइ खाने पर्वका रुपमा मनाउने गर्दथे ।

नयाँ चामल दहीमा भिजाएर सिलाम मिसाइ देवता, पितृलाई चढाएर खाने गरिन्थ्यो । अनि खलो पुजेर भूमेलाई फुर्से कुभिन्डोको बलि र खिर रोटी चढाइ दाँइ लगाउने चलन थियो । तर, अहिले ती सबै चलन लोप हुँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायको भनाइ छ ।

“खलो पूजा गरिसकेपछि असारमा सँगै अर्मपर्म गरेर रोपाइँ गरेका किसान सगोलमा वनभोज जाने गर्दथे । नयाँ धान कुटेर बनाइएको चामलको भात, मासको दाल र साग तथा तरुलको तरकारीसँग वनभोज खाएर रमाइलो गरिन्थ्यो, वर्षभरिको दु:ख बिर्साउने माध्यम बन्दथ्यो वनभोज मङ्सिरमा वनभोज”, उपाध्यायले भन्नुभयो, “तर अहिले न न्वाँगी खाइन्छ, न खलोपूजा हुन्छ, न त किसान वनभोज खान जान्छन् । मङ्सिरमा वनभात खाए गति परिन्छ भन्ने जनआस्था अहिले हराएर गएको छ ।”

नयाँ धान माड्ने, दाँइ हाल्दा खलो पुज्ने, भुमे पुज्ने परम्परा अहिले हराएर गएको म्याग्दीका ९१ वर्षीय रणबहादुर कार्कीको गुनासो छ । “खिर, रोटीलगायत चढाएर बलि दिइ खलो पुजेर वनभोज जाने चलन अब छैन”, कार्कीले भन्नुभयो, “अहिले त धान झाँट्न त्रिपाल प्रयोग गर्छन्, खलो नै बनाउँदैनन् अनि कहाँबाट खलो पूजा गर्नु ? त्रिपाल पुजेर भएन ।”

त्यसैगरी भूमे पुज्ने, सिमसार क्षेत्र कायम रहोस, चिस्यान नहटोस्, खेतीबाली सप्रियोस् भनेर प्रकृतिको पूजा गर्ने, पशुगोठ भरिभराउ होओस्, गोरस ९दूध, दही, मही, घिउ० आदिको कमी नहोस् भनेर दिवाली गर्ने चलन पनि हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् ।

“नयाँ पुस्ताले कृषि र प्रकृति दुवैलाई भुल्न थालेका छन्, यो राम्रो होइन”, मङ्गला गाउँपालिका–२ रणवाङका हरिकृष्ण पौडेलले भन्नुभयो, “देशविदेश जहाँ पुगे पनि, जति आधुनिक बने पनि आफ्ना पुर्खाले सन्ततिको हितका लागि मान्दै आएका परम्परा र गर्दै आएका विधि नयाँ पुस्ताले बिर्सनु हुँदैन ।”

कृषि र प्रकृति पूजालाई अन्धविश्वास नमान्न नयाँपुस्तासँग आग्रह गर्दै ८२ वर्षीय डिलबहादुर घिमिरेले भन्नुभयो, “यो अन्धविश्वास होइन, सबैको हितका लागि कामना गरेर सहकाल र खुसियालीका लागि प्रकृतिसँग गरिएको अनुरोध हो । प्रकृतिमा आश्रित हामी मान्छेले प्रकृतिको पनि सम्मान गर्नुपर्छ ।”

वनभोज हरायो, पिकनिक आयो
वनभोज शब्दको अर्थ कृषकसँग जोडिएर आएको छ । तर हिजोआज कृषकको वनभोज हराएको छ भने पिकनिक जाने, हिन्दी र आधुनिक गीत बजाएर नाच्ने, मदिरा सेवन गर्नेजस्ता संस्कृति विकसित भएको छ ।

किसानले धान भित्राइसकेपछि खुसियाली मनाउन एक ठाउँमा भेला हुने र नयाँ अन्नको परिकार खाने चलन अहिले हराउँदै गएको पाका नागरिकको भनाइ छ । धान भित्र्याइसकेपछि खेतका फाँटमा बसेर नयाँ उघारेको अन्नलाई भोजका रुपमा खाने पर्व पछि कालान्तरमा वनभोज संस्कृति बनेको म्याग्दी बहुमुखी क्याम्पसका पा्रध्यापक भोलानाथ घिमिरे बताउनुहुन्छ ।

“मङ्सिरमा अमलाको रुखमुनि पकाइएको नयाँ अन्नको परिकार दाल, तरुल, पिँडालु, साग खाने परम्परा थियो । मूलत: कृषि प्रधान समाजको अभिन्न अङ्गका रुपमा यो विकास भएको देखिन्छ । फिरन्ते युगमा खुला ठाउँमा खाना खाने बाध्यतालाई पछिको स्थिर बसोबासमा पनि निरन्तरता दिएर अनुकूल मौसमलाई उपयोग गरेको देखिन्छ”, प्राध्यापक घिमिरेले बताउनुभयो ।

अमलाको र वनभातको सन्दर्भलाई हेर्दा खाएको भोजनलाई पेटबाट (नंअमला) नमला मल नराख्ने वनस्पतिलाई साक्षी राखी वनभात खाने चलन सांस्कृतिक त हुँदै हो अझ यसको सम्बन्ध आयुर्वेदिक तथो जीवनशैलीसँग पनि गाँसिएको उहाँको भनाइ छ ।

“मङ्सिरको चिसोमा अमला टोक्दै गर्दा पानी पिउने उत्प्रेरणा दिने सामाजिकीकरणमा ज्येष्ठ नागरिकले अनुज सदस्यलाई ज्ञान हस्तान्तरण गर्ने परम्परा पनि हो । त्यसैले वनभोज खुसियाली, स्वतन्त्रता, स्वच्छन्दता, प्राकृतिक, सामाजिक, आयुर्वेदिक र सामाजिक पक्षसँग सम्बन्धित छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार नेपाली संस्कृतिको इतिहासमा वनभातलाई किसानको पर्वका रुपमा लिइन्थ्यो । समयसँगै वनभातको परिभाषा पनि परिवर्तन हुँदै गएको पाइन्छ । वर्तमान समयमा मानिसले यसलाई वनभोज तथा घर बाहिरको मनोरञ्जनका रुपमा मनाउन थालेका छन् ।

वनभोज कार्यक्रम अहिलेको व्यस्त समाजको पुनर्ताजकीय तथा मेलमिलाप र आत्मीयता साटासाट पाटो पनि हो । विभिन्न परिवारमा आर्थिक तथा अन्य विविध कारणले गर्दा बिग्रिएको पारिवारिक सम्बन्धलाई सकारात्मक गाँठो कस्ने आधारका रुपमा पनि विकास भएको पाइन्छ । नेपाली समाज पाश्चात्य संस्कृतिको प्रभावमा पर्दै गएकाले आफ्ना परम्परागत संस्कृति र पद्धतिलाई बिर्सदै गएकामा पाका नागरिक चिन्तित छन् । रासस