२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक



अ+ अ-

काठमाडौं: पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देख्छन् ? हाम्रो जीवन, समग्र समाजदेखि प्रविधिसम्मले ल्याएका फरक भोगाइलाई कसरी वर्णन गर्ने ? यसको लामा व्याख्या हुन सक्छ ।

लोकरक ब्यान्ड नेपथ्यले भने एउटा गीत र त्यसको भिडियोमा आफूले बाँचेको यस कालखण्डको छोटो चर्चा गर्ने प्रयास गरेको छ ।
ब्यान्डको आजै सार्वजनिक यस गीतको मुखडाले भन्छ –

‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि
गाह्रै भो इमानको मान्छे भेटिन’

सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छ’ भनेर आशा पनि दर्साएको छ ।

यस गीतको प्रसङ्ग झन्डै छ वर्षअघि सुरु भएको नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ सुनाउँछन् । ‘म पचास वर्ष पुगेको बेला तनहुँका अनिल अधिकारीले मलाई एउटा गीत सुनाए । त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो । त्यस परिकल्पनालाई विस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ । केही वर्षसम्मै लगाएर परिमार्जन गरेपछि गीत यस रूपमा उभिएको हो ।’

आफ्ना सिर्जनामा नयाँ–नयाँ प्रयोग रुचाउने अमृतले यस गीतको बीचमा मन्त्रपाठको भावना पनि समेटेका छन् ।

पछिल्लो समय नेपथ्यका अन्य गीतजस्तै यस गीतको रेकर्डिङ पनि ब्यान्डलाई व्यवस्थापन गर्दै आएको नेपालयकै कालिकास्थानस्थित स्टुडियोमा गरिएको हो । त्यसका लागि प्राविधिक हिसाबबाट साउन्ड इन्जिनियर इमनविक्रम शाहले सघाएका छन् ।

गीतलाई नवीन जोशीले म्युजिक भिडियोका रूपमा ढालेका हुन् । नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक ‘रेशम’ गीतको म्युजिक भिडियो दुई दशकअघि बनाएका नवीनले ब्यान्डका लागि तयार पारेको यो दोस्रो म्युजिक भिडियो हो । नेपालको विज्ञापन क्षेत्रका परिचित डिजाइनर-निर्देशक नवीन सन् २००२ देखि ब्यान्डसँगको सहकार्यमा छन् । नेपथ्यका पोस्टर डिजाइन लगायतका सिर्जनामा नवीनको संलग्नता रहँदै आएको छ ।

‘पचासै वर्षमा’ को म्युजिक भिडियोमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई पनि देखाइएको छ । ‘नेपथ्यका नयाँ र पुराना झलकहरूलाई टेलिभिजन प्रविधिको विकासक्रम समेट्दै परिवर्तनशील समयको विम्बका रूपमा प्रस्तुत गरेको छु,’ नवीन भन्छन्, ‘डब्बा आकारको टेलिभिजनको युगबाट सुरु भएको यात्रा पातलो हुँदै गएको स्क्रिन र अहिले प्रत्येकका हात–हातमा मोबाइल फोनबाट देखिने भिडियोसम्म लगेर जोडेको छु ।’

नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको बेला ब्यान्डले यो नयाँ गीत सार्वजनिक गरेको हो । पालैपालो गरेर गीत सार्वजनिक गर्दै जाने नीतिअनुसार गत वर्ष यसै एल्बमको ‘भटभटे’ गीत सार्वजनिक गरिएको थियो ।

भर्खरै तयार पारिएको यो म्यूजिक भिडियोलाई यो लिंक Nepathya – Pachaasai Barshama | पचासै वर्षमा (youtube.com) मा गएर हेर्न सकिन्छ ।

नेपथ्यका गीतहरु अधिकारिक युट्युब च्यानल https://www.youtube.com/nepathyaofficial मा सुन्न र हेर्न  सकिन्छ ।

नेपथ्यको आधिकारिक यु ट्युब च्यानलमा प्रस्तुत यस भिडियोसँगै अब यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ । यु ट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरु स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमाजनलगायत प्रायः डिजिटल स्टोरहरुमा उपलब्ध हुनेछन् ।