२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विधुत् विस्तार



फाईल फोटो
अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विधुत्तीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम एक गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार गरिएको हो ।

दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विधुत्तीय सेवा विस्तारलाई तीव्रता दिइएको छ । यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविधुत् आयोजनाद्वारा बिजुली बालिएको थियो । हाल कतिपय लघु जलविद्युत् आयोजना बन्द अवस्थामा छन् भने केही जेनतेन चलिरहेका छन् ।

स्थानीयस्तरमा सञ्चालनमा ल्याइएको लघु जलविद्युत्ले आवश्यकताअनुसार विद्युत्को माग पूरा गर्न नसकेपछि प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तारलाई तीव्रता दिएको हो । “लघु–जलविद्युत् मर्मतसम्भार हुन नसक्दा यिनले धान्न सकेनन्, स्थानीयस्तरमा साना उद्योग स्थापना तथा अन्य उपकरण सञ्चालनका लागि विद्युत्को माग बढ्दै गएपछि केन्द्रीय प्रसारण लाइन विस्तारमा जोड दिएका हौँ”, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो । उहाँका अनुसार केन्द्रीय प्रसारलाइन जोडिएपछि पहिले झैँ पटकपटक अन्धकारमा बस्नुपर्ने छैन ।

प्राधिकरणको बनेपास्थित वितरण केन्द्रप्रमुख इञ्जिनियर अमृत अधिकारीले जिल्लाको दक्षिणी क्षेत्र डाँडापारी क्षेत्रका महाभारत, खानीखोला गाउँपालिकामा हाल केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउन धमाधम काम भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राधिकरणले महाभारतको वडा नं ३, ४, ५, ६ र ७ मा करिब दुई हजार घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् बलेको छ । वडा नं १ मा करिब तीन सय थान मिटर पठाउने तयारी भइरहेको बताउँदै अधिकारीले वडा नं २ र ८ मा लाइन विस्तारको काम भइरहेको बताउनुभयो ।

केन्द्रका अनुसार डाँडापारीकै अर्को क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामासमेत केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउने काम थालिएको छ । खानीखोलाको ५ र ७ नं वडा का केही घरमा विद्युत् लाइन पुर्‍याइसकिएको केन्द्रका सूचना अधिकारी ई सुरोज पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार खानीखोलाका दुई वडाका करिब एक हजार घरमा उक्त विद्युत् पुगेको हो । गाउँपालिकाको अन्य बस्तीमा लाइन विस्तार गर्दै जाने योजना केन्द्रको छ । खानीखोला–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले दुई सय ६७ मिटर गाउँमा आइपुगेको बताउँदै लाइन जोड्ने काममा केही ढिलाइ भएको बताउनुभयो ।

बुद्धिबहादुरका अनुसार ठेकेदार कम्पनीले बिगे्रको ट्रान्समिटर जोडेका कारण एक सयभन्दा बढी घरमा विद्युत् सेवा पुगेको छैन । यस्तै वडा नं ५ मै आफ्नो घरमा केन्द्रीय प्रसारण विद्युत् जोडिदिन तीन सय २२ स्थानीयले मिटरका लागि निवेदन दिएको स्याङ्तानले जानकारी दिनुभयो । यसैगरी रोशी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको जनाइएको छ । हालै वडा नं ११ भीमखोरीस्थित छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ, अमलाबासको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली बत्ती बालिएको हो । यसअघि छ सय १२ घरधुरीमा जडान भइसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले बताउनुभयो ।

उहाँकाअनुसार उक्त वडामा करिब ७८ घरमा लाइन जडान गर्न बाँकी छ भने केही घरमा सामुदायिक विद्युतीकरण विद्युत् जडान गरिएको छ । स्थानीयलाई रोशी गाउँपालिकाले नि:शुल्क विद्युत् मिटर वितरण गरेको थियो । वडा नं ११ र १२ का करिब १५० सय घरमा उक्त प्रसारण लाइन पुर्‍याउन बाँकी रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार वडा नं १२ मा पनि सामुदायिक विद्युतीकरण गर्दा छुटेका करिब ५० घरमा केन्द्रीय प्रसारण लाइन विस्तारको योजना बनाइएको छ । रासस