२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ



अ+ अ-

बारा । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा तत्कालै प्रहरीको टोली परिचालन गरी एकजनालाई नक्कली नोटसहित पक्राउ गरेपछि निजको वयानका आधारमा जिल्लाको विभिन्न ठाउँ र अन्य ठाउँबाट गरी चार जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिबाट ६१ हजार नक्कली नेपाली नोट, भारतीय सिमकार्डसहित सात थान मोबाइलसमेत बरामद गरिएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो । पाँच तहमा नक्कली नोटको कारोबार भइरहेको जानकारी भएपछि प्रथम, दोस्रो, तेस्रो र चौथो तहसम्मका व्यक्तिलाई यो नक्कली नोट प्रकरणमा पक्राउ गर्न सफल भएको र चाँडै नै पाँचौँ तहका व्यक्तिलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

तीन लाख नक्कली नेपाली नोट लिनका लागि एक लाख सक्कली नेपाली नोट दिनुपर्ने पक्राउ परेका व्यक्तिको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । नक्कली नोट कारोबार गरेबापतमा पाँच प्रतिशतसम्मको कमिसन दिने गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले सुनाउनुभयो । नक्कली नोटको कारोबार गर्ने व्यक्ति खासगरी भीडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा नक्कली पैसा प्रयोग गर्ने गरेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

भारतमा नक्कली रुपैयाँ छापेर नेपालको विभिन्न ठाउँमा कारोबार गर्ने गरेको हुँदा भारतीय प्रहरीहरूसँग पनि समन्वय, सहकार्य गरेर पैसा छाप्ने सञ्जालसम्म पुग्ने उपरीक्षक काफ्लेले दाबी गर्नुभयो । वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव नक्कली नेपाली नोटलाई नेपालमा साटासाट गर्ने गराउने नाइकेको रूपमा काम गर्दै आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । रासस