२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटमा पाँच हजार किलोको घण्ट



अ+ अ-

ढोरपाटन (बागलुङ),: बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि यहाँ महाघण्ट राखिएको हो ।

विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता मात्रै महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् ।

विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनाअनुसार उक्त महाघण्ट राखिएको मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताउनुभयो ।

पञ्चकोटमा यही फागुन ९ गतेदेखि आयोजना हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा महाघण्टको विधिपूर्वक स्थापना गरिने उहाँले बताउनुभयो । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको स्वामी कमलनयनाचार्य बताउनुहुन्छ । महाघण्टी बनाउन आठ वर्ष लागेको थियो ।

पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्टी राखिएको उहाँले बताउनुभयो । महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब रु दुई करोड खर्च लागेको अनुमान गरिएको कमलनयनाचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पञ्चकोटमा महाघण्ट राखिएको छ, यसमा शान्तिको ध्वनि निस्किनेछ, हामीहरुले अबको केही दिनमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आयोजना गरेका छौँ, त्यस अवसरमा घण्टको विधिवत् रूपमा प्राणप्रतिष्ठाको कार्य गरिने छ, धेरै समय खर्चिएर घण्ट बनेको छ, यसलाई यहाँ बन्दै गरेको गण्डकी कलशको आडमा राखिने छ ।”

समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आठ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गर्नुभएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरलगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ ।

हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो । पर्यटक आकर्षण र धार्मिक संस्कृतिको संरक्षणका लागि थुप्रै संरचना बन्ने चरणमा छन् ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले पञ्चकोटमा घुइँचो बढ्न थालेको दाहालको भनाइ छ । दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक आउने उहाँ बताउनुहुन्छ । बिदा तथा विभिन्न चाडपर्वका बेला करिब एक हजार दुई सय बढी पर्यटक आउने गरेको दाहालले बताउनुभयो । महाघण्टले पर्यटकलाई थप आकर्षित गर्ने उहाँको भनाइ छ ।रासस