२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुघाटको दोस्रो र तेस्रो सुरुङ जोडियो



अ+ अ-

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ बुधबार जोडिएको छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत जनप्रतिनिधि, आयोजना, निर्माण कम्पनी र परामर्शदाताका प्रतिनिधिको उपस्थितिमा बुधबार सुरुङ जोडिएको हो ।

जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कामका रुपमा मानिन्छ । राहुघाटको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना भएको हो ।

हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङ जोडिएको जानकारी दिनुभयो । “रघुगङ्गा गाउँपालिकाको अधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिटबाट एक हजार ८९७ मिटर सुरुङ खनिएको छ”, उहाँले भन्नुभयो, “राहुघाटको कूल छ हजार २७० मिटरमध्ये हालसम्म ९४ प्रतिशत अथवा पाँच हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ ।”

तीन सय ५३ मिटर सुरुङ खन्न बाँकी रहेको केसीले बताउनुभयो । चार वर्षअघिदेखि बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट राहुुघाटको सुरुङ निर्माण सुरु गरिएको थियो ।

पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमध्ये तीन सय ५१ मिटर खन्न बाँकी छ । बाँध र पहिलो अडिट जोड्ने ७७ मिटर लामो सुरुङमध्ये ७५ मिटर खनिएको छ । पिप्लेस्थित तेस्रो अडिटबाट सर्ज साफ्ट जोड्ने २५ मिटर लामो सुरुङको यसअघि नै ‘ब्रेक थ्रु’ भएको थियो ।

सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको सञ्चालक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युत्गृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर ‘वटम प्रेसर साफ्ट’को सुरुङ यसअघि नै जोडिएको थियो ।

सर्ज साफ्टदेखि टप प्रेसर साफ्ट जोड्ने पाँच सय ४१ मिटरमध्ये ४८ मिटर खन्न बाँकी छ । टप प्रेसर साफ्टदेखि भर्टिकल सर्ज साफ्ट जोड्ने एक सय ७१ र भर्टिकल प्रेसर साफ्टदेखि वटम प्रेसर साफ्ट जोड्ने तीन सय २९ मिटर सुरुङ यसअघि नै निर्माण भएको थियो ।

राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका व्यवस्थापक राज विष्टले बताउनुभयो । “आगामी सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको छ ।”

बाँध निर्माणस्थलमा ११९।७ मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको छ । एक सय १२ मिटर लामो, ११९।७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला डाइभर्सन गरेर डिसेन्डर बनाउन थालिएको विष्टले जानकारी दिनुभयो । १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त ९पिआरओआर० प्रविधिको बाँध निर्माण ६० प्रतिशतभन्दा बढी सकिएको छ । विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ ।

इलेक्ट्रोमेकानिकलसम्बन्धी काम गर्न विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो । भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ ।

भारतीय आयातनिर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।

विसं २०७४ मङ्सिरमा रू छ अर्बमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

सर्वोच्च अदालतको विसं २०७८ असार २९ को आदेशपछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन रोकिँदा आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतीका रुपमा देखिएको आयोजना कार्यालयले जनाएको छ । रासस