२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्णमा आरोही आउन थाले



Annapurna Base Camp (file)
अ+ अ-

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् ।

बसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार शिविर पुगेको छ । जङ्गे अल्टिच्युडमार्फत आएका उनीहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टर चढेर आधार शिविर गएका स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

“यो यामको पहिलो टोली आधार शिविर पुगेको छ,” उहाँले भन्नुभयो, “म्याग्दीमा रहेको धवलागिरि हिमाल चढ्ने टोली पनि केही दिनमा आउदैछन् ।” अष्ट्रेलिया, स्विजरल्यान्ड, बेलायत र युक्रेनका एक/एकजना आरोही शेर्पा र सहयोगीको टोलीसहित आधार शिविर पुगेका हुन् ।

अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण–४ नारच्याङको भूगोलमा पर्छ । गत बसन्त याममा पाँच समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए । शरद्याममा भने कसैले पनि अन्नपूर्ण आरोहण गर्ने अनुमति नलिएका पर्यटन विभागले जनाएको छ ।

यसपालि अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने तयारी गर्नुभएको छ । सन् २०२६ भित्र बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने एलीको लक्ष्य रहेको छ ।

सेभेन समिट ट्रेक्समार्फत बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गर्नुभएको थियो । पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गर्नुभएको थियो ।

विश्वमा हालसम्म छजना आरोहीले मात्र बिना अक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन् । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको पहिलोपटक आरोहण गरेका थिए । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो ।

विसं २०६८ मा नारच्याङका अगुवाहरुले पहिचान गरेको नारच्याङ–अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग प्रथम आरोही मौरिजका नाममा नामकरण गरिएको छ । नारच्याङबाट दोस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ । रासस