२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन



अ+ अ-

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रुपमा सुरु गरेको जुस उत्पादन सफल भएको हो ।

गाउँपालिका अध्यक्ष शङ्कर थापाका अनुसार उत्पादित जुसको सेवन योग्य प्रमाणीकरणको परीक्षण प्रक्रिया अघि बढाइएको छ । “जङ्गलमा प्रशस्त पाइने लालीगुराँसको फूल उपयोगविहीन हुने गरेकामा अब आर्थिकोपार्जनसँग जोड्ने प्रयासमा लागेको छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले किसानको आर्थिकस्तर वृद्धिका लागि यो वर्षदेखि सुरु गरेको ‘अध्यक्षसँग किसान सवलीकरण कार्यक्रम’मार्फत लालीगुराँसका फूलको सङ्कलन गरेर जुस उत्पादनमा संलग्न गराउने प्रयासमा लागेका छौँ ।”

यही साता आएको वर्षा र हावाहुरीले झारेका फूल सङ्कलन गरेर बनाइएको जुसको गुणस्तर मापन हुन बाँकी भए पनि न्यून लागतमा तयार गरिएको जुस गुणस्तरीय प्रमाणित भए राम्रो उत्पादन लिन सकिएको गाउँपालिकाका कृषि शाखाका सुदेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार सेवनयोग्य परीक्षणमा प्राप्त नतिजामा आवश्यकताअनुसार सुधार गरेर सवलीकरण कार्यक्रममार्फत किसानलाई व्यावसायिक उत्पादनमा संलग्न गराउने लक्ष्य गाउँपालिकाले बनाएको छ ।

“किसानको खेतबारी र जङ्गलमा झरेका फूल सङ्कलन गरेर त्यसलाई सरसफाइ गरी उमालेर र फिल्टर गरेर सेवनयोग्य जुस तयार गरिएको छ”, सुवेदीले भन्नुभयो, “अन्यत्र सफल भएका योजनाको अवलोकन र किसानलाई तालिम दिएर जुससहित जामलगायतका उत्पादनको योजनामा लाग्नेछौँ ।”

चिकित्सकका अनुसार लालीगुराँसको फूलबाट उत्पादित जुस तथा अन्य उत्पादनको सेवनले घाँटीको दुखाइ कम गर्ने, रगतको मात्रा बढाउने, उच्च रक्तचाप रोक्ने, मिर्गौलासम्बन्धी रोगबाट बचाउने तथा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ । रासस