२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा फस्टाउँदै सुकुटीको व्यापार



अ+ अ-

धरान । धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन् । पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ ।

निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन् । घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन् । फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका–१५ की दिलकुमारी तामाङले बताउनुभयो ।

हरेक बिहानको ७ बजे उहाँ घरबाट निकेतन गल्ली आइसक्नुहुन्छ । सोही गल्लीमा सुकुटी बेच्दाबेच्दैँ दिन बित्छ । बिहानदेखि बेलुका ८:३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उहाँको भनाइ छ ।

तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउनुहुन्छ अनि आफैँ सुकुटी बनाउनुहुन्छ । त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ । आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । निकेतन गल्लीमा सुकुटी बेच्दैँ भेटिनुभएका उहाँले भन्नुभयो, “अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्ये फाइदा लिन सकिन्छ । धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरु पनि धेरै आउँछन् ।”

तामाङले यसरी सुकुटीको व्यापार गर्न थाल्नुभएको सात वर्ष बितिसक्यो । यही व्यापारबाट घरपरिवारको जीविकोपाजृन भइरहेको उहाँले बताउनुभयो । सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उहाँको अनुभव छ । मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताउनुभयो । पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मेहनतअनुसार कमाइ पनि राम्रै हुन्छ । दु:ख गरेको खेर जाँदैन ।”

ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रुपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले बताउनुभयो । उहाँका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन् ।

धरान–१५ की बिनिता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्नुहुन्छ । उहाँका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी रु एक हजार छ सयदेखि तीन हजारसम्म पर्दछ । सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उहाँको भनाइ छ ।

सुकुटीको अचार प्रतिकेजी रु १२ सयदेखि १६ सयसम्ममा बिक्री हुने गरेको गिरीले जानकारी दिनुभयो । सुकुटीसँगै अचार बिक्री गरेर दैनिक रु २५ देखि ३५ हजारको कारोबार गर्दै आएको उहाँको भनाइ छ । सात वर्षदेखि सुकुटीको व्यापार गरिरहनुभएकी गिरीले भन्नुभयो, “मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौँदेखि हङ्कङ, बेलायतसम्म पुगेको छ ।”

धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय पुरुषको तुलनामा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन् । उनीहरुले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन् । सुकुटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लीमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन् ।

धरानमा सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरुको कारोबारको स्तर कस्तो छ भन्ने यकीन विवरण पाउन मुस्किल रहेको स्थानीय बताउँछन् । धेरैले व्यक्तिगतरुपमा घरबाटै व्यापार गरिरहेका छन् । बजारमा बिक्री गर्न बसेका सँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौँको व्यापार हुने गरेको बताउँछन् । सुकुटीको व्यापार गर्ने दिलकुमारी तामाङले भन्नुभयो, “एउटै पसलबाट रु २५र३० हजारको व्यापार हुन्छ । सबैको हिसाब गर्दा त लाखौँ पुग्छ नि ।”

विगतका वर्षहरुको तुलनामा कोरोना महामारीपछि सुकुटीको व्यापार अलि कम भएको व्यापारीको भनाइ छ । व्यापारी गिरीले भन्नुभयो, “बजारमा सुकुटीको माग अलि खस्किए पनि अरु व्यवसाय जस्तो धेरै घटेको छैन । व्यापार गर्ने बढिरहेकाले सुकुटीको व्यापार फस्टाएकै छ ।” रासस