२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीर्ण भवनबाट उपचार सेवा



अ+ अ-

अन्नपूर्ण । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ । साविकको ल्वाङ्ग घलेल गाविसमा विसं २०४५ मा स्थापन भएको उक्त स्वास्थ्य चौकी विसं २०७२ को भूकम्पले भत्किँदा जीर्ण बनेको थियो ।

“स्वास्थ्य चौकी आफैँ घाइते छ । बिरामी भएर जाँदा पनि निकै डर हुन्छ”, माछापुच्छ्रे–९ सैतीघट्टकी धनमाया तामाङले दुखेसो सुनाउनुभयो । घर नजिकै रहेको उक्त स्वास्थ्य चौकी जीर्ण भए पनि अहिलेसम्म नयाँ नबनेको उहाँले गुनासो गर्नुभयो ।

“जाँच्न जाँदा पनि कतै भत्किएर पुरिन्छ कि भन्ने चिन्ताले सताउँछ”, तामाङले भन्नुभयो, “धेरै पुरानो घर हो । काठहरू सबै पुरानो भइसकेका छन् ।” सरकारले नयाँ भवन निर्माण गरी सहज र भयरहित स्वास्थ्य दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विसं २०४५ मा निर्माण भएको उक्त भवनको माटो र ढुङ्गाको गारो चर्किएका छन् । ढुङ्गाले छाएको छानो अड्याउन टेको लगाइएको छ । बिरामी जाँच्ने थलो ल्वाङ्ग घलेल स्वास्थ्य चौकी आफैँ घाइतेजस्तै देखिने गरेको स्थानीय बताउँछन् ।

विसं २०७२ को भूकम्पपछि भवन पूर्णरुपमा जीर्ण बनेको स्वास्थ्य चौकीका सिनियर अहेब हरिबहादुर मल्लले बताउनुभयो । “भूकम्पको समयमा भित्ता केही चर्किएको थियो । त्यसपछि छानो अड्याउने काठ नै भाँचियो । अनि हामीले नै टेको लगाएर अड्याएका हौँ”, उहाँले भन्नुभयो, “विविध कारणले अहिलेसम्म नयाँ भवन बनेको छैन, टेकोकै भरमा धानिएको छ ।”

जीर्ण भवनबाट त्रासैत्रासमा सेवा दिनुपरेको अहेब मल्लले बताउनुभयो । “मनमा एकदमै डर भइरहन्छ । बिरामीलाई असर पर्छ कि भन्दै जाँच्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी पनि यहाँ बसिरहँदा भत्केर दुर्घटना हुन्छ कि भनेर त्रास रहिरहन्छ ।” भवन जीर्ण हुँदा टेको भत्किने मात्र नभए पानी चुहिने अनि भलपानी भवनभित्र पस्ने समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

भवनको अवस्थाले गर्दा सेवाग्राहीसमेत घटेको स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सक्रिज लामिछानेले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक १०–१२ जना बिरामीमात्रै जाँचका लागि आउँछन् । यसअघि दैनिक ३५ जनाको हाराहारीमा बिरामीलाई सेवा दिँदै आइएको उहाँको भनाइ छ ।

भवनको तीनवटा कोठामध्ये बीच कोठाको धुरी अड्याउने काठ भाँचिए पनि अन्य दुई कोठा सामान्य रहेको हेल्थ असिस्टेन्ट लामिछानेले बताउनुभयो । “भवन बनेको लामो समय भइसकेको छ । बीच कोठाको छानो झर्नै लागेको छ । हावाहुरी लाग्दा अन्तै गएर बस्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले नयाँ भवन बनाउनका लागि वडाध्यक्षलाई भनिरहेका छौँ । अध्यक्षज्यूले पनि सकेको पहल गरिरहनुभएको छ ।”

यो स्वास्थ्य चौकी माछापुच्छ्रे मोडल पदमार्गअन्तर्गत पर्दछ । पदयात्रामा निस्कने विदेशी तथा आन्तरिक पर्यटकले स्वास्थ्य चौकीबाट लाभ लिने हुनाले पनि यसको टेको हटाएर भवनको पुन: निर्माण गर्नुपर्ने आवश्यकता रहेको हेल्थ असिस्टेन्ट लामिछानेले बताउनुभयो । उहाँका अनुसार अहिले चौकीमा एक हेल्थ असिस्टेन्ट, एक सिनियर अनमी, एक सिनियर अहेब र एक कार्यालय सहयोगी गरी चारजना कर्मचारी छन् ।

“हामीसँग पाँचजना प्राविधिक कर्मचारी हुनैपर्ने हो । अहिले एकजना कार्यालय सहयोगीसहित चारजना छौँ”, हेल्थ असिस्टेन्ट लामिछानेले भन्नुभयो, “एकजना नर्स र एकजना पारामेडिक्सको कमी छ । हामीले जीर्ण भवन र कम कर्मचारीका बीच पनि स्थानीयलाई राम्रो स्वास्थ्य सेवा दिने प्रयत्न गरिहेका छौँ ।”

नयाँ स्वास्थ्य चौकी भवन निर्माणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताउनुभयो । “वडाध्यक्षका साथै म सामाजिक विकास समितिको पनि संयोजक हुँ । मेरो वडामा सञ्चालित स्वास्थ्य संस्थाको यो अवस्था हुँदा आफैँ लज्जित छु”, उहाँले भन्नुभयो, “यसका लागि कार्यपालिकाले निर्णय गरेर सङ्घीय सरकारसँग विशेष योजना माग गरिएको छ ।”

सङ्घीय सरकारबाट आँउदो आर्थिक वर्षमा विशेष योजनामार्फत भवनको योजना नपरेमा गाउँपालिकाबाट बनाउने वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । “यो वर्ष सङ्घीय सरकारबाट नै स्थानीय तहलाई दिने विशेष अनुदानको योजनामा स्वास्थ्य चौकी पर्छ भन्नेमा हामी ढुक्क छौँ”, उहाँले भन्नुभयो, “नपरेको खण्डमा गाउँपालिकाबाट अन्य वडाको बजेटको सिलिङ घटाएर भए पनि काम गर्नेछौँ ।”

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले स्वास्थ्य चौकीलाई चालु आर्थिक वर्षमा रू तीन लाख छुट्याइएको बताउनुभयो । उक्त रकमले सबै काम सम्पन्न नहुने भएपछि रकमान्तर गरिएको उहाँको भनाइ छ ।

“चालु आवमा रू तीन लाख छुट्याएका थियौँ । त्यसले केही नहुने भएपछि सङ्घीय विशेष अनुदानमा माग गरेर पठाएका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “विनियोजित रकम स्वास्थ्य चौकी जाने बाटो निर्माणमा खर्च भयो । भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर सङ्घ सरकारलाई बुझाएका छौँ ।”

आगामी आवमा सङ्घीय सरकारमार्फत स्थानीय तहलाई छुट्याइएको रकम स्वास्थ्य चौकी निर्माणमा परिचालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । रासस




भर्खरै