२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वबाट नयाँ वर्षको भब्य नेपथ्य सुरुवात



अ+ अ-

बिर्तामोड: स्थानीय डोमालाल रंगशालामा शुक्रबार लोकरक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो ।’

अघिल्लो रात बेतोडको वर्षाले पूर्वी तराइको धुवाधुलोलाई पखाल्नेमात्र होइन चैत अन्तिमको उखरमाउलो गर्मीलाई थोरै राहतमा पनि परिणत गरिदिएको थियो । यसरी वर्षकै अन्तिम साँझ मौसमी अनुकूलताका बीच ठीक साढे छ बजे कन्सर्ट प्रारम्भ भयो । ब्याण्डले पूर्वी भेगबाटै संकलित ‘कोशीको पानी यो जिन्दगानी’बाट कार्यक्रमको थालनी गरेको थियो ।

 नेपथ्यका अधिकांश प्रस्तुतीहरुमा मध्यतिर मात्र देखिने दर्शकहरुको चर्को उत्तेजना अनि जताततै नृत्यको दृश्य यसपाला बिर्तामोडमा भने प्रारम्भदेखि देख्न पाइयो ।

अघिल्लो लहरमै उभिएर सुरुदेखि नृत्य गर्ने समूहमा बिर्तामोड–६ की रेशु भुजेल देखिन्थिइन् । उत्तिकै नाच्ने साथीहरु सिमा र प्रतिमाको साथमा आएकी रेशुले कार्यक्रमबारे प्रतिक्रिया दिने क्रममा दुइवटै हातका बुढी औंला उचालिन्आँखा झिमिक्क पारिन् र भनिन् ‘गज्जब’।

 कोशीको पानी’ पछि क्रमैसँग ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ सुनाएपछि नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले दर्शकहरुसँग संवादको थालनी गरे ।   ‘बिर्तामोडको यो मञ्चबाट संसारभर फैलिएका नेपालीहरुलाई नयाँ वर्ष २०८१ को शुभकामना दिन चाहन्छु,’ उनले दर्शकहरुतर्फ हात फैलाउँदै भने, ‘भोली यो पूर्वी भेगबाट हुने सूर्योदयले हामी सबैको जीवनमा सुख र शान्ति ल्याओस् ।’

 कार्यक्रम सुरुहुनुभन्दा दुइ घन्टा अगावैदेखि मैदानमा उपस्थित भएर साथीहरुसँग रमाइलो गरिरहेका देखिने बिर्तामोडका दर्शकहरु अन्य कतिपय मामलामा पनि विशिष्ट देखिन्थे । पहिरनदेखि लिएर संगीत अनुकूल शरिरका बान्कीहरु सम्म मिलेको देख्दा यो सहरमा पश्चिमा साँगीतिक जमघटको प्रभाव भित्रिएको महशुस हुन्थ्यो ।

 कार्यक्रममा त्यसपछि अमृतले ब्याण्डको पहिलो रेकर्ड गरिएको गीत प्रस्तुत गर्ने अनुमति माँग्दै ‘आँगनैभरि’ सुनाएका थिए । त्यसलाई ‘लामपाते सुरती’ र ‘चरि मरयो’ गीतले निरन्तरता दिएको थियो ।

कार्यक्रम अघि बढ्दै जाँदा एक ठाउँमा अमृतले हालै मात्र रेकर्ड गरिएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ गीत गाइरहेका थिए । त्यसमा करिब २० वर्षकी सरिता पाठक आनन्द लिएर नृत्य गरिरहेकी थिइन् । त्यतिबेलै अमृतले गीतमा ब्यक्त गरिएकै भावमा मन्त्रपाठ सुरुगर्दा सरिताले अचम्म मानेर गायकलाई हेर्दै हाँसिरहेको दृश्य निकै रोचक देखिन्थ्यो । मन्त्र सकिनेबित्तिकै हाँस्दा हाँस्दै सरिता फेरि नृत्य गर्न थालेकी थिइन् । उक्त गीत सकिएपछि आफु यो कन्सर्ट हेर्नका निम्ति बुधबारे देखि आएको जानकारी पनि उनले दिइन् ।

 यसरी सांगीतिक यात्रा गर्दा गायक अमृतले ती सहरमा बसोबास गरेर सिँगो राष्ट्रलाई योगदान दिइरहेका सर्जकहरुसँग भेटघाटको क्रमलाई पनि निरन्तरता दिइरहेकै हुन्छन् ।

बिर्तामोड नेपाली संगीत र साहित्यको सेवामा समर्पित कतिपय सर्जकहरुको कर्मथलो पनि हो । अघिल्लो दिन मात्रै अमृतले पुराना गीतकार शिवशंकर थापालाई उनको घरैमा गएर भेटेका थिए । कैयौँ कालजयी गीतहरुका लेखक थापाले त्यस अवसरमा नेपाली लोक संगीतलाई नयाँ पुस्तासम्म लैजान नेपथ्यले दिँदैआएको योगदानको प्रशंसा गरेका थिए । 
शुक्रबारको कन्सर्टमा अमृतले पूर्व देखि पश्चिम कुनासम्मबाट पैदल यात्रा गर्दै संकलन गरेका गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रम हेर्नका निम्ति सिमावर्ती भारतीय बस्तीहरु हुदै सिक्किम र भूटान छेउको जयगाउँ सम्मका दर्शकहरु आएका देखिन्थे । कार्यक्रमको अन्त्य भने सँधैजस्तै नेपाली राष्ट्रिय झण्डाको महिमागान् ‘रातो र चन्द्रसूर्जे’बाट गरिएको थियो ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुबिन शाक्यगितारमा निरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

अघिल्ला दुइपटक जस्तै यसपाला पनि बिर्तामोडले न्यानो स्वागत गरेकामा आभार प्रकट गर्न चाहन्छु,’ कार्यक्रम सकिएपछि अमृतले प्रतिक्रिया दिए ।
यसरी पूर्वी नेपालबाट नयाँवर्षको स्वागतसहित निस्किएको नेपथ्यले अब यो वर्षभरि श्रृंखलावद्ध यात्राहरु लिएर नेपाल र विदेशका मञ्चहरुमा आफुलाई उपस्थित गराउने भएको छ ।

 फोटोहरु: दिपित राज / नेपालय