२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा



अ+ अ-

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगँैचा हो ।

शिक्षकसमेत रहनुभएका हमालले फोइमहादेवको दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जमिन लिजमा लिएर सञ्चालन गर्नुभएको नमूना स्याउ बगैँचामा फुजी, गाला र गोल्डेन जातका गरी ११ हजार स्याउका बिरुवा रोपिएका छन् ।

हमालले चुली कर्णाली एग्रो फार्म दर्ता गरेर नमूना स्याउ बगैँचा निर्माण गर्नुभएको हो । फोइमहादेव गाउँमा फुजी स्याउ उत्पादनको सम्भावना रहेको र स्याउबाट मनग्य आम्दानी लिन सकिने भएकाले आफूले शिक्षण पेशाबाट कमाएको पैसासमेत खर्च गरेर स्याउ बगैँचा निर्माण गरेको हमालले बताउनुभयो । ‘गाउँमै फुजी जातको स्याउको नमूना बगैँचा बनाएर उत्पादन सुरु गर्न थालेको छु”, उहाँले भन्नुभयो, “अहिले मैले लगाएको फुजी जातको स्याउले राम्रो उत्पादन दिन थालेपछि गाउँका अरुले समेत स्याउ रोप्न थाल्नुभएको छ ।”

वार्षिक रु दुई लाख ५० हजार महादेव माध्यमिक विद्यालयलाई भाडा तिरेर लिजमा लिएको जग्गामा अहिले थरिथरिका स्याउ फुलेको देख्दा आफूलाई खुसी लाग्ने गरेको हमालले बताउनुभयो । “बगैँचामा हालसम्म रु दुई करोड लगानी गरिसकेको छु”, उहाँले भन्नुभयो, “यस वर्षमात्र मैले पाँच हजार स्याउका बिरुवाबाट फल उत्पादन गर्ने लक्ष्य राखेको छु ।”

बगैँचा व्यवस्थापनका लागि स्याउ जोन जुम्ला कार्यालयबाट ५० प्रतिशत अनुदानमा रु ४२ लाखमात्र सहयोग पाएको हमालले बताउनुभयो । “स्याउ उत्पादनमा कालीकोटलाई चिनाउनु छ । बाँकी लगानीअनुसारको उत्पादनका लागि बगैँचा गोडमेलमा छौँ”, उहाँले भन्नुभयो, “यो स्याउ बगैँचामा दुई जनालाई निरन्तर रोजगारी दिएको छु ।”

तिलागुफाको फोइमहादेव गाउँमा धेरै किसानले स्याउ बगैँचा विस्तारका लागि कार्यालयबाट अनुदान लिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।

चुली कर्णाली एग्रो फार्मले सञ्चालन गरेको फोइमहादेवको दहचौर स्याउ बगैँचा जिल्लाकै नमूना बगैँचा रहेको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताउनुभयो । “यो बगैँचालाई आवश्यक थोपा सिँचाइ, स्याउमा लाग्ने रोग नियन्त्रणका लागि विषादिदेखि अन्य अनुदान सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो, “नमूना स्याउ बगैँचा निर्माण गरेर कालीकोटमा स्याउखेतीको सम्भावना राम्रो छ, भन्ने सन्देश दिएको छ ।”

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाका एक हजार तीन सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।रासस