२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर



अ+ अ-

त्रिवेणी, (नवलपरासी) । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गर्नुभएको छ ।

करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उहाँले यसपटक खरबुजा फलाउनुभएको छ । “पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ”, उहाँले भन्नुभयो ।

वरपर कतै चैतेधान कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबुजा लगाएर सफल भएको महतोले बताउनुभयो । सरस्वती जातको खरबुजा लगाउनुभएका उहाँले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताउनुभयो । चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उहाँले बताउनुभयो । रु छ लाख आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उहाँले बताउनुभयो ।

आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताउनुभयो । जिल्लाको स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उहाँले बताउनुभयो । “यसलाई खासै औषधि हाल्नुपरेन, प्राङ्गारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्”, उहाँले भन्नुभयो । खरबुजाखेतीमा खासै खर्च र मेहनत गर्नुनपरेको उहाँले बताउनुभयो ।

रोजगारीको सिलसिलामा सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताउनुभएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिनुभएको छ । कावासोती नगरपालिका–१७ का वडासदस्यसमेत रहनुभएका उहाँ विगत छ वर्षदेखि व्यावसायिक कृषिमा लाग्नुभएको हो । “रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने छैन । कृषिकर्मबाट पनि कमाउन सकिन्छ”, उहाँले भन्नुभयो । रासस