२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनका केराले पाउन थाल्यो बजार



अ+ अ-

नारायणगढ । पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित हुनुहुन्छ । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उहाँ आफ्नो व्यवसायमा उत्साहका साथ लाग्नुभएको छ ।

उहाँले अहिले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएको छ । उहाँले सुनाउनुभयो “विगत एक महिना अघिसम्म बिक्रीका लागि कठिन थियो । अहिले बजार राम्रो छ ।” यहाँको केराले बजार धान्ने अवस्था रहँदापनि भारतीय केरा आउने क्रम नरोकिएकाले मूल्यमा भने अघिल्ला वर्षको तुलनामा केही फरक भएको उहाँले बताउनुभयो। केरामानै भविष्य देखेर व्यावसायिक बन्नुभएका भट्ट अहिले आफ्नो उत्पादन दैनिक चितवनसहित काठमाडौँ, पोखरा र बुटवल जाने गरेको बताउनुहुन्छ ।

अझै थप पाँच बिघा क्षेत्रफलमा केरा खेती विस्तारका लागि काम गर्दै आएको उहाँले सुनाउनुभयो । केराले बजार पाउन थालेपछि यहाँका अर्का केरा उत्पादक किसान सागर भट्टराईले अहिलेको बजार देख्दा यस व्यवसायमा लाग्न उत्साह बढेको बताउनुभयो । भारतीय केराका कारण यहाँको उत्पादन विस्थापित हुने हो की भन्ने चिन्ता रहँदै गर्दा अहिले आएर नेपाली केराले बजार पाउन थालेपछि आफुहरुलाई राहत मिलेको उहाँको भनाइ थियो ।

रत्ननगरका विष्णुप्रसाद काप्रीले हाल केराको बजार राम्रो भएको अवस्थामा खडेरीका कारण उत्पादन भने घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ सुविधा भएको ठाउँमा त ठिकै होला तर हामीजस्ता १/२ बिघा क्षेत्रमा केरा लगाउने किसानलाई खडेरीले असर गरेको छ ।” केरामा मल हाल्नका लागि आकाशे पानी कुरेर बस्न परेको उहाँको भनाइ थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरे भने चितवनको केरा बजारमा पहिलेको भन्दा केही सुधार भए पनि उत्साह भने भई हाल्ने स्थिति नभएको बताउनुहुन्छ ।

यहाँ उत्पादन भएका मालभोग र जी नाइन जातका ठूला साइजका सग्ला केरा बिक्रीमा समस्या नभए पनि साना साइजका केरा भने नबिकेको उहाँको भनाइ छ । लगातार परेको खडेरीले गर्दा उत्पादनमा पनि समस्या रहेको भन्दै उहाँले भन्नुभयो, “धेरै साथीहरुले भाडामा जग्गा लिएर खेती गर्नुभएको छ । सबैको सिँचाइको लागि बोरिङ हाल्ने स्थिति पनि छैन ।” भारतीय केरा नआउने हो भने यहाँ उत्पादन भएका सबै साइजका केरा बिक्रीमा समस्या नहुने र केराले मूल्यसमेत बढी पाउने उहाँको भनाइ थियो ।

जिल्लामा विशेषगरी जी नाइन र मालभोग केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दुबै केराले बजार पाएसँगै व्यवसायी उत्साहित भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ केरा जोनका संयोजक विष्णुहरि पन्तले जानकारी दिनुभयो । यद्यपि लगातारको खडेरी, हावाहुरी र रोगकीराका कारण केराखेतीमा समस्या रहिनै रहेको र बजारीकरणमा भारतीय केराको मारबाट यहाँका किसान थप समस्यामा पर्ने गरेको उहाँले बताउनुभयो ।

कार्यान्वयन एकाइका सूचना अधिकारी इन्द्रप्रसाद ढुङ्गानाले जिल्लामा हाल २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको बताउनुभयो । उहाँले यो याममा जिल्लामा वार्षिक रुपमा उत्पादित केराको २५ प्रतिशत बजारमा आउने गरेको उहाँले जानकारी दिनुभयो । यस समयमा नेपाली केराले बजार धान्ने उहाँको भनाइ थियो । उहाँका अनुसार जिल्लामा वार्षिक ५६ हजार चार सय ४८ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । रासस